गोकुल बास्कोटाले क्लिन चिट् पाउलान ?

१८ भाद्र, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ । मिश्रले सात दिनभित्र हाजिर भई बयान नदिएमा कानुनी कारबाही गर्ने चेतावनी अख्तियारले दिएको छ । मिश्र भने हाल जापानमा छन् ।

कोरोना संक्रमणको जोखिमका कारण बयान लिने र छानबिन गर्ने काममा सुस्तता आइरहेका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको विषयमा आयोगले मिश्रलाई छानबिनका लागि बोलाएको हो । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले सेक्युरिटी प्रेस खरिदका बारेमा आवश्यक छानबिन गरी अनुसन्धानलाई तीव्रता दिनका लागि मिश्रलाई बोलाइएको जानकारी दिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्विस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाइ गरेको भन्ने विषयमा बुझ्नका लागि सूचना जारी गरेको अख्तियारले जनाएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदपछि प्राप्त हुने कमिसनको मोलमोलाइ गर्दाको अडियो रेकर्ड सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले ८ फागुन २०७६ मा पदबाट राजीनामा दिएका थिए । यसपछि बाँस्कोटाले काठमाडौं जिल्ला अदालतमा मिश्रका विरुद्ध गाली बेइज्जतीको मुद्दा हालेका छन् । बाँस्कोटाले अदालतमा हालेको मुद्दा हाल विचाराधीन अवस्थामा छ ।

मिश्रले भने बाँस्कोटालाई भ्रष्टाचारमा कारबाहीको माग गर्दै अख्तियारमा निवेदन दिएका थिए । मिश्रको निवेदनपछि सो प्रकरणमा अख्तियारले बाँस्कोटामाथि छानबिन थालेको थियो । अनुसन्धान थालेको करिब ६ महिनापछि अख्तियारले अडियो रेकर्ड गर्ने मिश्रसँग बयान लिनका लागि सात दिने सूचना प्रकाशित गरेका हो ।

पूर्वमन्त्री बाँस्कोटाले पाउलान् क्लिन चिट ?

१५ महिनाअघि तत्कालीन मन्त्री बाँस्कोटाको कार्यकक्षमै रेकर्ड भएको भनिएको अडियो गत फागुनमा सार्वजनिक भएको
थियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले खरिद प्रक्रियामा ५४ देखि ५५ करोड बनाउन आग्रह गरेको रेकर्ड छ ।

तत्कालीन अवस्थामा स्विस कम्पनीसँग सम्झौता गर्ने भनिए पनि हाल सो कम्पनी सेक्युरिटी खरिद प्रकरणमा सामेल रहेको
छैन । यस आधारमा बाँस्कोटाले अख्तियारबाट क्लिन चिट पाउने सम्भावना देखिएको छ । मिश्रका धेरै गतिविधि शंकास्पद र संदिग्ध प्रकृतिको भएकाले बाँस्कोटालाई क्लिन चिट दिने धेरै आधारहरू तय हुन सक्ने देखिएको अख्तियार उच्च स्रोतको भनाइ छ । रेकर्ड गरिएको भनिएको सिडीको आधिकारिताका बारेमा मिश्रले पुष्टि गर्न सक्ने आधार न्यून हुँदै गएकाले पनि बाँस्कोटालाई सहज हुँदै गएको बताइएको छ ।

यो खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका हुन् ।