वरिष्ठ नेता रामचन्द्र पौडेल द्धारा कोरोना महामारीकै बीचमा १४ औं महाधिवेशन गर्न सकिने तीन वटा विकल्प

१७,भाद्र, काठमाण्डौ । नेपाली काँग्रेसका वरिष्ठ नेताखरामचन्द्र पौडेलले यदि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न नसकिएको खण्डमा पुरानै क्रियाशील सदस्यताबाट नयाँ अधिवेशन गर्न सकिने पौडेलको भनाइ छ ।

२०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा चार लाख ८० हजार क्रियाशील सदस्य थिए । उनै क्रियाशील सदस्यबाट वडादेखि केन्द्रसम्म महाधिवेशन गराउन सकिने पौडेलको भनाइ छ ।

कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने कार्यतालिका निकालेको थियो ।

जसअनुसार साउन मसान्तभित्र ७७ जिल्लामै नयाँ सदस्यता र नवीकरण वितरण गरिसक्ने कार्यतालिका थियो । तर आठ जिल्लामा समायोजनका काम नै सकिएको
छैन । ती जिल्लामा क्रियाशील सदस्यता फारम पनि पुगेका छैनन् ।

पौडेलले अहिले कोरोना संक्रमित वृद्धि भइरहेकाले केहि दिन पर्खेर क्रियाशील सदस्यता वितरणका काम सक्नुपर्ने बताए ।

उनले पहिलो विकल्पका रूपमा कात्तिकसम्म नयाँ क्रियाशील सदस्यताको काम सक्नुपर्ने बताएका हुन् ।

दोस्रो विकल्पका रूपमा पौडेलले, यदि कोरोना संक्रमित बढिरहे भने १३ औं महाधिवेशनका क्रियाशील सदस्यबाट वडादेखिका अधिवेशन गर्न सकिने बताए ।

तेस्रो विकल्पका रूपमा पौडेलले १३ औं महाधिवेशनकै महाधिवेशन प्रतिनिधिबाट केन्द्रीय महाधिवेशन गर्न सकिने पनि बताए।

‘महाधिवेशन प्रतिनिधि अहिले छँदैछन् । उनीहरू नयाँ महाधिवेशन नभएसम्म क्रियाशील नै रहन्छन्। त्यसकारण पुरानै महाधिवेशन प्रतिनिधिबाट पनि नेतृत्व चयन गर्न सकिन्छ,’ उनले भने, ‘महाधिवेशन जसरी पनि गराउने इच्छाशक्ति हुने हो भने विकल्प छन् ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बुधबार आयोजना गरेको गण्डकी प्रदेशस्तरीय नेतारकार्यकर्ता भर्चुअल अन्तर्क्रिरयामा बोल्दै पौडेलले फागुन ७ देखि नै महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।

‘यस्तै समस्या देखा पर्ला भनेर मैले तीन वर्ष अघि नै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर जाऔं भनेको थिएँ,’ उनले भने, ‘महासमिति बैठकमा पनि यो एजेन्डा प्रस्तुत गरेको हुँ । त्यसबेला साथीहरूले ध्यान दिनुभएन। हेर्नुस् को रहेछ दुरदर्शी अहिले थाहा भयो नि ।

आफूले प्रस्ताव गरेका बेला महाधिवेशन कार्यतालिका बनाएको भए यतिञ्जेलसम्म क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सकिइसकेको हुने उनले बताए ।

उनले पार्टी अधिवेशनमा ढिलाइ भए स्थानीय तह निर्वाचन तयारीमा धक्का पुग्ने र पार्टीका उम्मेदवार फेर पनि पराजित हुन सक्ने अवस्था सिर्जना हुने बताए ।

‘समयमै अधिवेशन सके पो मुखमा आएको स्थानीय तह निर्वाचनमा विजय हासिल गर्न सकिन्छ । अरू चुनाव सामना गर्न सकिन्छ,’ उनले भने, ‘अधिवेशन फागुनबाट सार्नु आत्मघात हुन्छ । अधिवेशन जसरी पनि फागुनमै गर्नुपर्छ ।