संक्रमितलाई सकसः लक्षणसहितका संक्रमितले नै पाउँदैनन् अस्पताल

१७ भाद्र, काठमाण्डौ । काभ्रेका रविन सेढाईंलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतबार सम्पर्क गर्यो । त्यसपछि उनी अलमलमा परे । काठमाडौंका विभिन्न अस्पताल धाए । तर, उनले शय्या पाउन सकेनन् । उनले भने, ‘संक्रमित भए पनि अस्पतालले भर्ना गर्नै मान्दैनन् । म पनि सोमबार दिनभरि भौतारिएँ ।’ उनले आफूसँगै संक्रमण पुष्टि भएका नौ जना सेल्फ आइसोलेसनमा बसेको बताए ।

काठमाडौंकी ५७ वर्षीया राधिका महर्जनलाई सोमबार कोरोना पुष्टि भयो । उनी घरमै सेल्फ आइसोलेसनमा बसेकी छन् । तर, उनलाई अक्सिजनको कमी भएपछि सास फेर्न गाह्रो भयो । विभिन्न अस्पताल चहार्दा समेत उनी भर्ना हुन पाएकी छैनन् । काठमाडौं उपत्यकासहित देशभरका केही अस्पतालले कोरोना भाइरस संक्रमण पुष्टि भएकालाई भर्ना गर्न आनाकानी गर्दा संक्रमितले समस्या भोग्नुपरिरहेको छ ।

रिपोर्ट पोजेटिभ आएमा संक्रमित आफँैले पनि स्वास्थ्य मन्त्रालयका डा. माधव लम्साल र लीला विक्रम थापालाई सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इडिसिडीले लक्षणसहितका संक्रमितले डा. लम्साललाई ९८५१२३४२२९ र लक्षण नभएका संक्रमितले थापालाई ९८५११४७३६१ मा फोन गर्न आग्रह गरे पनि केही संक्रमितहरूले आफूहरूलाई बेवास्ता गरेको बताएका छन् ।

यस्तै, मंगलबार देशभर थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका
छन् । योसहित नेपालमा हालसम्म २२ हजार १ सय ७८ जना उपचारपछि निको भएका छन् ।

काठमाडौं उपत्यकामा मंगलबार ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५ पुगेको छ । काठमाडौंमा ५ हजार १५, ललितपुरका ७ सय ४३ र भक्तपुरमा ५ सय ४७ संक्रमित पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर ७ हजार २ सय ८० जना होम आइसोलेसनमा बसेका छन् । हालसम्म ७ लाख ५ हजार ५ सय ६० जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

देशभर ७ हजार ३ सय ९० जना क्वारेन्टिनमा बसेका छन् । हाल देशभर १८ हजार १ सय १२ जना आइसोलेसनमा उपचाररत
छन् । संक्रमितमध्ये मंगलबार ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।

पछिल्लो समयमा संक्रमणदर दिन प्रतिदिन बढ्दै गएको छ । लक्षणसहितका संक्रमित बढ्न थालेपछि चिकित्सकले व्यक्ति स्वयं सचेत र सजग रहन आग्रह गर्दै आएका छन् । भौतिक दुरी कायम गरेर आत्मानुशासनमा रहे कोरोनाबाट जोगिन सकिने चिकित्सकको भनाइ छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका हुन् ।