रोजगरदाता मुलुकले लैजान तयार भए नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय

१५ भदौ, काठमाण्डौ । सरकारले रोजगरदाता मुलुक लैजान तयार भए नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । भाद्र १४ गते आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नियमित उडान पनि सुरु हुने भएकाले श्रम गन्तब्य मुलुकले माग गरेमा श्रम सम्झौता अनुसार विदेश जान चाहाने नयाँ कामदारलाई पनि जान दिने निर्णय गरेको हो ।

माग र श्रम सम्झौताका आधारमा नयाँ श्रम स्वीकृति खुल्ला गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

उनकाअनुसार अब नेपाली कामदार लैजान बाटो खुला राखेका मुलुकमा जान नयाँ श्रम स्वीकृति पनि जारी हुनेछ । सरकारले विदामा आएकालाई विदेश फर्किन दिन पुनः श्रम स्वीकृति भने यसअघि देखि नै दिइरहेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो । सरकारले त्यसकै आधारमा वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुनः श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउने बाटो खुला गरेको थियो । अब नयाँ शर्तसहित श्रम स्वीकृति पनि जारी गर्न लागिएको हो ।

गत फागुन ३० देखि नयाँ श्रम स्वीकृति बन्द छ । अब वैदेशिक रोजगारी खुला भएका र सम्बन्धित मुलुकले लिने अवस्थामा नयाँ श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउनेछन् ।