देशभरमा ८९९ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि

१५ भाद्र, काठमाडौं । आज सोमबार देशभरमा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छन् । देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै संक्रमित हुनेको संख्या ३९ हजार ४६० पुगेको छ । उनीहरुमध्ये २२८ जनाको मृत्यु भएको छ भने २१ हजार ४९० जना कोरोनामुक्त भएका छन् ।

आजै ५८८ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २९८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना छन् ।

यस्तै सर्लाहीका १०३ जना, चितवनका ७१, मकवानपुरका ४२, सुर्खेतका ३८, पर्साका ३४, धनुषाका ३१, तनहुँका २६, सुनसरीका २५, बारा र अछामका २३–२३ जना, सप्तरीका २२, मोरङका १९, कैलालीका १६, बाँकेका १४, काभ्रे र गोरखाका १३–१३ जना र रुपन्देहीका ११ जनामा संक्रमण पुष्टि भएको छ ।

संखुवासभा र नवलपुरका ९–९ जना, सिन्धुली र कञ्चनपुरका ७÷७ जना, महोत्तरीका ६, झापा र सिराहाका ५–५ जना, बाग्लुङका ४, कास्की र नवलपरासीका ३–३ जना, दोलखा, रामेछाप, लमजुङ, अर्घाखाँची, बर्दिया र बैतडीका २–२ जना तथा खोटाङ, ओखलढुंगा, रौतहट, धादिङ, सिन्धुपाल्चोक, कपिलवस्तु, पाल्पा, जुम्ला, डोटी र बझाङका १–१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।