अविवाहति महिलाहरुको पिडा न फाल्न सक्छन् न पाल्न सक्छन्

११ भाद्र, इटहरी । अनिच्छित गर्भहरु प्रायः फालिन्छन् । तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन । जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरुले दान गरिरहेका छन् ।

सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी आफूले जन्माउने बच्चा दान गर्न चाहिन्छन् । उनको गर्भमा ८ महिनाको बच्चा छ । कानुनले बालिका भन्ने उमेरमै प्रेम सम्बन्धपछि उनी गर्भवती भएकी हुन् । गर्भ रहेको डेढ महिनामा थाहा पाएपछि प्रेमीले स्वीकार गर्ने आश्वासन दिए । तर, त्यसको पाँचै महिनामा प्रेमी सम्पर्कविहीन भएपछि ती किशोरी तनावमा परिन् । उनी प्रेमीकै गाउँसम्म पुगिन् ।

तर, अर्को बिहे गरेको थाहा पाएपछि समस्या भयो, उनले भनिन्, न फाल्न सकिन्छ न त जन्माएर पाल्न नै । फाल्नका लागि ज्यान जोखिममा पार्नुपथ्र्यो, पाल्दा समाजलाई जवाफ दिनुपथ्र्यो ।

दुवै गर्न नसक्ने अवस्थामा आमासँगको सल्लाहपछि उनी इटहरीस्थित श्रमिक महिला साझा मञ्चको आपत्कालीन आवासगृहमा बसिरहेकी छन् । जिम्मा लिने भरपर्दा संस्था पनि नहुँदा जन्मिने बच्चा कुनै परिवारलाई दान गर्ने सोच बनाएको उनले बताइन् । बच्चा नभएको परिवारलाई दिएर उज्यालो बनाइदिन्छु , उनले भनिन्, त्यसपछि म पढ्छु, काम गर्छु, केही गरेर देखाउँछु ।’

आवासगृहमै बस्ने २८ वर्षीया एक महिलाले केही साताअघि बच्चा जन्माएर अस्पतालबाटै दान गरिन् । शारीरिक रुपमा अपांगता भएकी ती महिलाले जन्माएको बच्चाको बाबु पत्तो लागेन । उनले बच्चा पाल्न सक्ने अवस्था पनि रहेन ।

यस्तै, स्कुले प्रेममा परी गर्भवती बनेकी एक १९ वर्षीया किशोरी पनि ११ महिनाकी छोरी अर्कै परिवारलाई दिन चाहन्छिन् । प्रेमी र परिवारले हेला गरेपछि उनले घर छाडेकी हुन् । आवासगृहमा बसिरहेकी उनले भनिन्, दिदीलाई बच्चा दिएर म विदेश जान्छु, कुरा गरिसकेकी छु ।’

बच्चा पाल्न समस्या हुने आमाहरुको संख्या ठूलो छ । कमजोर आर्थिक अवस्थाका महिलाले छोराछोरीलाई अरूको घरमा काम गर्न राख्ने गर्छन् । तर, त्यसरी काम गर्न राखिएका बालबालिका भने दुव्र्यवहारमा समेत पर्छन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा हिमाल दाहालले लेखेका छन् ।