म बार्सिलोना छाड्न चाहन्छु

१० भदौ, काठमाडौँ । अर्जेटिनी कप्तान तथा स्पेनको बार्सिलोलनाका अप्तान तथा स्टार खेलाडी लिओनल मेसीले आफूले बार्सिलोना छाड्न चाहेको बताएका छन् ।

सन् २००४ देखि स्पेनिस महारथी बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेसीले आफूले यहि सिजनबाट क्लब छाड्न चाहेको भन्दै फ्याक्स पठाएका छन् ।

३३ वर्षीय फरवार्ड मेसीले अन्य क्लबमा जानका लागि तत्काल बाटो खोलिदिन बार्सिलोनासँग आग्रह गरेका छन् ।

६ पटकका बालन डि’अर विजेता मेसीले २००४ मा बार्सिलोनामा डेब्यु गरे यता चार पटक च्याम्पियन्स लिगको उपाधि जिते। तर पछिल्लो समय मेसी क्लब व्यवस्थापनप्रति असन्तुष्ट थिए ।

मेसीले क्लब छाड्न चाहेको सार्वजनिक भएसँगै युरोपका ठूला क्लब उनलाई भित्र्याउन प्रतिस्पर्धामा उत्रिएका छन् । इंग्लिस क्लबहरु म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी तथा फ्रेञ्च क्लब पिएसजी मेसीलाई भित्र्याउने होडमा अघि देखिएका छन् ।

२०२१ सम्म बार्सिलोनामा रहने सम्झौता रहेका मेसीका लागि क्लबले यसअघि ७ सय मिलियन युरो मूल्य तोकेको थियो ।

मेसीले क्लब छाड्न चाहेको पत्र पठाएपछि बार्सिलोनाको बोर्ड बैठक बस्दैछ ।

मेसीले क्लब छाड्न चाहेको सार्वजनिक भएपछि बार्सिलोनाका समर्थकहरूले घरेलु मैदान नेउ क्याम्प अघि जम्मा भएर बोर्डको विरोध गरेका छन् ।

२००० मा मेसी १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए ।

त्यसयता उनले क्लबका लागि दर्जनौ रेकर्ड बनाएका छन् । उनले बार्सिलोनाका लागि सर्वाधिक ६३४ गोल गरेका छन् । उनले बार्सिलोनामा रहदा ३४ उपाधि जिते । जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधि छन् ।

मेसी ला लिगाका सर्वाधिक गोलकर्ता (४४४ गोल) हुन् । मेसीले सन् २०१२ को एकै सिजनमा क्लबका लागि सर्वाधिक ७९ गोल गरेर रेकर्ड बनाएका थिए ।