उपत्यकामा निषेधाज्ञा थप एक हप्ता जारी राख्न सिफारिस

९ भदौ, काठमाडौँ । पछिल्लो चरणमा काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्न थाले पछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले गएको ३ गते रातिबाट निषेधाज्ञा लगाएको भोलि एक हप्ता पूग्दैछ । सोही मध्यनजर गर्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा आज मंगलबार भएको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाका मेयरहरुसँग अहिलको अवस्थाबारे छलफल भएको बताए । उनले भने, ‘निषेधाज्ञा के गर्ने भन्नेबारे निर्णय भइसकेको छैन ।’ यद्यपि, एक अधिकारीले भने निषेधाज्ञाबारे ‘माथिको आदेश’ उपत्यकाका सीडीओहरुले पर्खिएको बताए ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका छन् ।