आज राती युरोपा लिगको उपाधिका लागि सेभिया र इन्टर मिलान भिड्दै

५ भादौ, काठमाडौं । कोभिड–१९ का कारण प्रभावित भएको युरोपा लिग अन्ततः आज राती शुक्रबार फाइनल खेलबाट सकिदैछ ।

आज राती नेपाली समयअनुसार राति पौने एक बजे उपाधिका लागि स्पेनिस क्लब सेभिया र इटालियन क्लब इन्टर मिलान भिड्दैछन् ।

जर्मनीमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सेभियाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।

इन्टरले भने सेमिफाइनलमा शख्तर डेनेट्क्समाथि ५–० गोलको जित निकालेको थियो ।

सिजनको इटालियन सिरि एमा दोस्रो भएको इन्टरलाई उपाधिको दाबेदार मानिएको छ । अझ इन्टरका फरवार्ड रोमेलु लुकाकु सिजनमा उच्च फर्ममा छन् ।

 

सेभिया प्रतियोगिताको अनुभवी टिम हो । उसले अहिलेसम्म पाँच पटक उपाधि जितिसकेको छ । सेभियाले सन् २०१४ देखि २०१६ सम्म लगातार तीन पटक उपाधि जितेर इतिहास बनाएको थियो ।

गत सिजनको उपाधि चेल्सीले जितेको थियो ।