पोखरामा ८७ बर्षे बृद्धाको कोरोना संक्रमिणबाट मृत्यु

२ भाद्र, पोखरा । पछिल्लो चरणमा कोरोना भाइरसका संक्रमिण बढ्ने क्रमसँगै मर्नेहरुको क्रम पनि जारी रहँदा आज पोखरामा कोरोना संक्रमित ८७ वर्षिय वृद्धको मृत्यु भएको छ ।

साउन ३२ गते उनका श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पतालको इमर्जेन्सी विभागमा भर्ना भएका थिए ।

कोरोना संक्रमणको आशंकापछि उनको स्वाब जाँच्दा हिजो मात्रै उनलाई कोरोना पुष्टि भएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत वृद्धको बिहान करिब ११ बजेतिर मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । उनको अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ ।

यस्तै, कास्की सेवा अस्पतालमा उपचाररत एक महिला पनि कोरोना संक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए । उनको मृत्यु पछि कोरोना पोजेटिभ आएको थियो । उनको पनि अहिले शव व्यवस्थापन को तयारीमा छ ।