जर्नेल र कर्नेल सहित तीन जना बर्खास्त

३२ साउन, काठमाठौ । सम्पत्ति र अनुशासन तथा आचारणसम्बन्धी कसुरमा नेपाली सेनाका जर्नेल र कर्नेलसहित तीन जना बर्खास्त भएका छन् ।

समरी जनरल सैनिक अदालतले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको आरोपमा तीन जनालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो ।

सैनिक सेवाबाट हट्नेहरुमा सहायक रथी प्रयोग जबरा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मा छन् ।

त्यस्तै सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने फैसला पनि सैनिक अदालतले गरेको छ ।

सह सेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिइएको छ भने महासेनानी राजेन्द्रमणी गिरी र अवकास प्राप्त लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई सफाई दिने फैसला भएको छ ।

सैनिक प्रवक्ता सन्तोष बल्लब पौडेलका अनुसार सहायक रथी राणाबाट १ करोड ५२ लाख २७ हजार ३ सय २१ रुपैयाँ र महासेनानी सिलवालबाट १५ लाख ७९ हजार ४ सय ८० रुपैयाँ असुल हुनेछ ।

राणा भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुनेछन् भने सिलवाल र विश्वकर्मा सरकारी सेवामा अयोग्य हुने छैनन् ।