माथि पहिरो तल बस्ती २३५ बस्ती उच्च जोखिममा

३२ साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे लिदीमा शुक्रबार ठूलो पहिरो खस्यो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि गरेको भौगर्भिक अध्ययनमा उक्त गाउँ ‘संरक्षण गर्नुपर्ने’ सूचीमा थियो । अति जोखिममा रहेर सार्नुपर्ने सूचीमा भने २ सय ९० बस्ती थिए । तीमध्ये जम्मा ५५ वटा मात्र सारिएका छन्। २ सय ३५ बस्ती अझै जोखिममै छन् ।

प्राधिकरणका अनुसार कतिपय बस्तीका बासिन्दा आफैं अन्यत्र गएका छन्। कतिपयमा अति थोरै परिवार संख्यामा रहेका छन् । प्राधिकरणको पछिल्लो तथ्यांकले ५ सय १३ परिवार जोखिमपूर्ण स्थानमै बसिरहेको देखाउँछ । ४ सय ७८ परिवारले जोखिमपूर्ण बस्तीमा घर बनाएका छन् ।

भूकम्पपछि प्राधिकरणले १ हजार १ सय ३ बस्तीको भौगर्भिक अध्ययन गरेको थियो । तीमध्ये आंशिक जोखिमयुक्त (संरक्षण गर्नुपर्ने) मा ३ सय २७ थियो । सिन्धुपाल्चोकको लिदी त्यही वर्गमा पथ्र्यो । ४ सय ८६ बस्ती सुरक्षित स्थानमा पाइएको थियो । अति जोखिममा रहेका २ सय ९० बस्तीका ४ हजार ६ सय ८९ परिवारलाई सार्नुपर्ने प्रतिवेदनले देखाएको थियो ।

भूकम्पबाट सबैभन्दा क्षतिग्रस्त गोरखाको लाप्राकका बासिन्दा अझै जोखिममै छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गुन्सीपाखामा ५ सय ७३ घर बनाइदिएको छ। संघले चिटिक्क परेका घर बनाइदिए पनि शौचालय, गाईवस्तु राख्ने गोठ नबनाइदिएका कारण उनीहरू थातथलो छोड्न मानिरहेका छैनन् । स्थानीयसँग छलफल नगरी एनआरएनएले घर बनाएकामा त्यहाँ असमझदारी देखिएको छ । धेरैजसो परिवार पहिरोमुन्तिर नै बसिरहेका छन् ।

रसुवाको तिरुगाउँलाई खाल्टेमा सार्ने भनिएको एकीकृत बस्ती राजनीतिक खिचातानीका कारण जोखिममै छ । भर्खरै जग्गा अधिग्रहणको काम सुरु भएको छ । त्यहाँका बासिन्दा पनि जोखिममै छन् । भूकम्पले थिलथिलो भएका बस्ती पहिरोको चपेटामा परिरहेका छन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।