कुलेश्वर–बल्खु क्षेत्र सिल गरिने

२९ साउन, काठमाडौं । काठमाण्डौमा हिजोआज कोरोना भाइरसका संक्रमिण बढ्ने क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न टोलमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ ।

हिजो बुधबार मात्र सो क्षेत्रमा २९ जनामा कोरोना पुष्टि भएकोमा आज बिहीबार थप १० जनामा कोरोना देखिएको छ ।

१४ वडा अध्ययक्षका अनुसार कुलेश्वर क्षेत्रमा फलफूल व्यवसाय गर्नेहरूमा कोरोना देखिएको छ । साथै बल्खुमा २ जना र लाम्पाटी क्षेत्रमा पनि कोरोना संक्रमित देखिएका छन् ।

‘घरबाट खासै बाहिर ननिस्कनेहरूमा पनि कोरोना देखिएपछि समुदायस्तरमै कोरोना फैलिएको आशंका छ,’ वडाध्यक्षले भनिन्, ‘घरमै बस्नेहरू पसल आउजाउ गर्दा कोरोना सरेको हुनुपर्छ ।

कोरोना देखिएका क्षेत्रमा सिल गर्न सुरू गरेको उनले जानकारी
दिइन् ।

‘बार लगाएर बाटो र गल्लीहरू पूर्ण रूपमा बन्द गर्न थालेका छौं । होटल तथा व्यापार व्यवसायका पसलहरू सबै बन्द गरिएको छ,’ ।

वडा कार्यालयले तीन दिनदेखि सेवा दिन बन्द गरेको छ ।

कलंकीमा रहेको मालपोत कार्यालयले बुधबारदेखि सेवा दिन बन्द गरेको उनले बताइन् ।

‘मानिसलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेका छौं,’ उनले भनिन्, ‘यहाँबाट कोरोना अन्यत्र फैलियो भने भयावह स्थिति हुनसक्छ ।

बिहीबार बिहान वडाभित्रका सबै टोलमा पुगेर घरभित्रै रहन र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन माइकिङ गरेर जानकारी गराइएको उनले बताइन् ।

‘धेरैजसो फलफूल व्यवसायीमा कोरोना देखिएको छ । समुदायस्तरमै कोरोना फैलिएकोले स्थिति भयावह नहुँदै सचेत हुन सबैमा आग्रह गरेको हो,’ उनले भनिन् ।
‘जहाँ कोरोना देखिन्छ त्यहाँ तारबार लगाएरै सिल गरिएको छ । पसल बन्द गरेका छौं । कोरोना लागेका मानिसको सम्पर्कमा रहेकालाई खोजेर कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ,’ उनले भनिन् ।

वडा पूर्णतया सिल गर्न केन्द्र सरकार र महानगरले सहयोग गर्नुपर्ने उनले बताइन् ।

कोरोना फैलिएका क्षेत्रमा सार्वजनिक बस सञ्चालन गर्न समेत रोक्नेबारे छलफल भइरहेको उनले जानकारी दिइन् ।

संक्रमितहरू टेकुलगायत अस्पतालका आइसोलेसनमा राखिएको र उनीहरूको अवस्था सामान्य रहेको उनले बताइन् ।

उनका अनुसार फलफूल र तरकारी विक्री वितरण बिहान ५ देखि ९ बजेसम्म मात्रै गर्न दिइएको छ । फुटपाथमा हुने व्यवसाय पूर्ण रूपमा रोक लगाइएको छ ।