भाद्र १ गतेदेखि खुल्ने भनिएका यातायात, हवाई, शैक्षिक संस्था र अन्य निकाय १५ दिन पर सार्न सिफारिस

२५ साउन, काठमाडौं । यस अघि साउन ५ गते सरकारले निर्णय गर्दै भाद्र १ गतेदेखि अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान खुलाउने भनिए पनि पछिल्लो समयमा कोरोना भाइरसका संक्रमिण बढ्ने क्रम नरोकिए पछि आज बसेको कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को बसेले बैठकले यसलाई १५ दिन पर सार्न सिफारिस गरेको हो ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम घढ्नुको साटो बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको छ ।

सीमामा थप कडाई

सीसीएमसीको बैठकले अन्तराष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न सिफारिस गरेको छ । भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारिनेछ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गरिनेछ ।

तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावततलाई पूर्ण रुपमा बन्द गर्न सिफारिस गरेको छ ।

यसबारे औपचारिक निर्णय भने भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने एक मन्त्रीले जानकारी दिए ।

बैठकले कोरोना संक्रमितको केस २०० भन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक तथा वित्तीय संस्था लगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका निकायहरुलाई अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाहमा जोड दिने निर्णय समेत गरेको छ । यसरी सेवा प्रवाह गर्दा अत्यावश्यक सेवाको हकमा ७–७ दिन तथा अन्य कार्यालयको हकमा १५–१५ दिनको आलोपालो मिलाई ५० प्रतिशतलाई कार्यालय र बाँकीलाई घरबाट काम गर्ने व्यवस्था मिलाउन भनेको छ ।

साथै स्थानीय तहको समन्वयमा थप आइसोलेसन र क्वारेन्टिन स्थलहरु व्यवस्था गर्ने निर्णय गरेको छ ।

अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएकाले स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।

जनस्वाथ्यका मापदण्ड पालना नगर्न संक्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष निकाल्दे बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह गरेको छ ।