कोरोना भाइरसका ३८० जना संक्रमित थपिदा २ जनाको मृत्यु

२५ साउन, काठमाडौं । आज देशभरमा ३८० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा ८ हजार ५१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । उनीहरुमध्ये ७५ जनाको मृत्यु भएको छ भने १६ हजार ३५२ जना निको भएर घर फर्किसकेका छन् ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९० जना संक्रमित थपिएका छन् ।

यस्तै पर्साका ७३ जना, धनुषाका ३७, मोरङका २८, बाँकेका २१, सप्तरी र कपिलवस्तुका १७–१७ जना, महोत्तरीका १५ र रुपन्देहीका १० जनामा संक्रमण पुष्टि भएको छ । डोटीका ८, चितवनका ७, सुनसरीका ६, सिराहा, झापा, सर्लाही, बारा, नवलपुर, दाङ र जुम्लाका ४–४ जना, नुवाकोट र डडेलधुराका ३–३ जना, ललिपुर, बर्दिया, सुर्खेत र कालीकोटका २–२ जना तथा रौतहट, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, पर्वत, पाल्पा, दैलेख र बैतडीका १र१ जनामा संक्रमण पुष्टि भएको
छ ।

थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७५ पुगेको छ ।

कास्कीमा एक पुरुषको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा–१९ का ६२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । १७ साउनमा अस्पताल भर्ना भएका उनी मधुमेहका विरामी थिए ।

यस्तै वीरगञ्जमा अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएकी महिलामा पनि कोरोना संक्रमण भएको पुष्टि छ ।