उपचार सफलतामा नेपाल अगाडि, निको भए ७२ प्रतिशत संक्रमित

२५ साउन, काठमाडौं । राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा— कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन् । सार्क मुलुकमा निको भएकाको प्रतिशत ६९.८ छ । ठूला देश भारतमा ६८.४३ र अमेरिकामा ५१.३ प्रतिशतले कोरोना जितेका छन् । जब कि नेपालमा ७२.२ प्रतिशत निको भएर घर फर्किइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार साँझसम्म देशभर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । तीमध्ये ६ हजार २ सय ६ जना उपचारका क्रममा छन् । १६ हजार ३ सय १३ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् ।

मुलुकमा कोरोना संक्रमण ह्वात्तै बढे पनि निको हुनेको संख्या पनि उल्लेख्य छ । संक्रमण मुक्त भई पछिल्लो २४ घण्टामा डिस्चार्ज हुने ४ सय ९९ जना छन्। यहाँसम्म आइपुग्दा संक्रमितभन्दा डिस्चार्ज हुनेको संख्या बढी भइसकेको छ । केहीअघिसम्म निको हुनेभन्दा संक्रमित बढी थिए ।

असार १ गते १ हजार ४१ संक्रमित निको भई डिस्चार्ज भएका थिए । त्यसको दुई साताभित्र निको हुनेको संख्या दोब्बर वृद्धि भएको थियो । असार १५ गते ३ हजार १ सय ३४ जना घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । असार २८ गतेसम्ममा ८ हजार १ सय ४७ जना संक्रमणपछि डिस्चार्ज भएका थिए। जब कि त्यस दिनसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ५ सय ८९ थियो ।

कुनै न कुनै स्वास्थ्य समस्या भएका र पहिलादेखि नै औषधि सेवन गरिरहेका व्यक्तिको मात्र कोरोना संक्रमणपछि ज्यान गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।