अत्यावश्यक सेवा बाहेक अरु दुई साताका लागि बन्द गरिने

२३ साउन, काठमाण्डौ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले आज शुक्रबार बैठक गरी अत्यावश्यक बाहेकका सेवा दुई साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

उक्त बैठकले कोरोनाभाइरसका संक्रमित भेटिएका स्थानमा सिल गर्न निर्णय पनि गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमण देखिएका स्थान र बस्तीमा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सिल गरिने बताए । ’जहाँजहाँ संक्रमण देखिन्छ, स्वास्थ्य मन्त्रालयको सिफारिसमा त्यहाँ सिल गर्ने हो,’ उनले भने ।

महाबौद्धमा आज शुक्रबारमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए । उक्त क्षेत्र शुक्रबार रातिदेखि अनिश्चितकालका लागि सिल गर्न लागिएको छ ।

आजको बैठकले तीनै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र पासपोर्ट वितरण बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका छन् ।

‘अब उपत्यकाका क्वारेन्टिनलाई आइसोलेसनमा स्तरोन्नति गर्ने र प्रोटोकलअनुसार मापदण्ड पालना भए–नभएको पनि अनुगमन गर्ने निर्णय गरेका छौं ।

यस्तै बैठकले उपत्यका भित्र कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न नपाइने निर्णय गरेको छ । पछिल्लो समय संक्रमणको जोखिम बढेको स्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।

साथै नाकाहरूमा समेत थप कडाइ गर्ने निर्णय भएको छ ।

साथै जनस्वास्थ्यका मापदण्ड नमान्नेप्रति कडा प्रस्तुत हुने पनि निर्णय भएको छ ।

अब उपत्यकामा मास्कको प्रयोग नगर्नेप्रति प्रशासन कडा प्रस्तुत हुने भएको छ । अहिले भने सरकारले मास्कको प्रयोग नगर्नेलाई एक सय रुपैयाँ जरिवाना गर्दै आएको छ ।