आज देशभर ४६४ जना कोरोना संक्रमित थपिदा ५ जनाको मृत्यु

२३ साउन, काठमाण्डौ । कोरोना भाइरसका संक्रमिण दिनप्रतिदिन बढ्ने क्रमसँगै आज देशभरमा ४६४ जनामा कोरोना संक्रमण भएको छ भने आजै थप पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुरको पाटन अस्पतालमा २ जना, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १÷१ जनाको मृत्यु भएको हो ।

पाटन अस्पतालको आईसीयूमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको कोरोना संक्रमणबाट आज बिहान बिहान मृत्यु भएको हो ।

सर्लाहीका पुरुषलाई कुकुरले टोकेको थियो र, साउन १९ गते अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

यस्तै रुपन्देही, सुनौलीकी महिला पनि साउन १९ गते नै अस्पताल भर्ना भएकी थिइन् । पाठेघरको क्यान्सर र निमोनियाको विरामी उनको उपचारका क्रममा शुक्रबार दिउँसो ११ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

सिराहाका युवकको धरानमा मृत्यु

सिराहाको गोलबजार नगरपालिका–१२ का २१ वर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको थियो ।

सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार मिर्गाैला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए । उनलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोशी अस्पतालमा एकजनाको मृत्यु

कोशी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ५८ वर्षका पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

आज शुक्रबार विहान मृत्यु भएका उनको दिउँसो कोरोना संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् । विराटनगरकै निजी स्वास्थ्य संस्थामा उपचार नभएपछि आजै विहान ९ बजेतिर आफन्तले उनलाई कोशी अस्पताल ल्याएका थिए । ‘आइसोलेसनमा राखेर जाँच गर्दा मृत्यु भइसकेको थियो’ डा. दासले भने ‘कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले स्वाब संकलन गरेका थियौं ।’

एक सातादेखि ज्वरो र खोकीको समस्या देखिएको उनमा उच्च रक्तचापको समस्या पनि थियो ।

वीरगञ्जमा एकजनाको मृत्यु

वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा आज विहान मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका वृद्धको मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् ।

उनलाई ४–५ दिन ज्वरो आए पनि ज्वरो ठीक भइसकेको थियो । तर साउन २२ गते राति उनलाई अचानक स्वास लिन गाह्रो भएपछि परिवारका सदस्यले एडभान्स अस्पताल लगेका थिए ।

त्यहाँ चिकित्सकले अक्सिजन दिए पनि काम गरेन । चिकित्सकले आईसीयुमा राखेर उपचार गर्नुपर्ने बताएपछि अटो रिक्सामा राखेर नेशनल मेडिकल कलेज लगिएको थियो । तर नेशनलले पनि भर्ना नलिएपछि अस्थायी कोभिड अस्पताल गण्डकमा लगिएको थियो । चिकित्सकले अक्सिजन दिएर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

४६४ जना संक्रमित

आज देशभरमा थप ४६४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ७ हजार ९२६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । उनीहरुमध्ये ७० जनाको मृत्यु भएको छ भने १५ हजार ८१४ जना निको भएर घर फर्किसकेका छन् ।