कोरोना संक्रमितको उपचारमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट

१९ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमितको उपचारमा पहिलो पटक प्लाज्मा थेरापी विधि अपनाइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मोरङ विराटनगरका पुरुष संक्रमितको बिहीबार राति प्लाज्मा थेरापी गरिएको
हो । ती बिरामीलाई प्लाज्मा दान दिने व्यक्ति पनि पुरुष नै छन् । संक्रमित र दाता दुवैको परिचय अस्पतालले गोप्य राखेको छ ।

प्लाज्मा थेरापीपछि बिरामीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अस्पतालको कोभिड व्यवस्थापन समिति संयोजक डा. सन्तकुमार दासका अनुसार ती व्यक्ति गम्भीर अवस्थामा अस्पताल आएका
हुन् । झन्डै ६० वर्षीय व्यक्ति साउन १० गते अस्पतालमा भर्ना भएका थिए । भर्ना हुँदा निमोनियाको समस्या पनि थियो । कोरोना संक्रमणपछि उनी सिकिस्त अवस्थामा पुगेको चिकित्सकले जनाएका छन् ।

‘भर्ना हुने बेला ती पुरुषमा निमोनियाको संक्रमण थियो’, उपचारमा संलग्न चिकित्सक टोलीका संयोजक डा. दासले भने, ‘शरीरमा अक्सिजन अभाव थियो । उहाँलाई ८० प्रतिशत अक्सिजन चाहिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयूमा लगिएको उनको भनाइ छ । ‘कोभिड र निमोनिया दुवैको हिसाबले उपचार गरियो। उपचार गर्दागर्दै पनि स्वास्थ्यमा खासै सुधार भएन’, उनले भने ।

उनको स्वास्थ्य बिग्रिँदै गएपछि चिकित्सक टिमको बैठक बस्यो । प्लाज्मा थेरापीद्वारा उपचार गर्ने सहमति जुट्यो । बिरामी पक्षलाई सूचित गरियो । सोहीअनुरूप दाताको खोजी गरे । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सम्पर्क गरे । संक्रमणपछि निको भएका एक युवक फेला परे । उनी प्लाज्मा थेरापीका लागि तयार भए । बिहीबार राति प्लाज्मा थेरापी गरियो । मधुमेह र उच्च रक्तचापको समस्या भोगिरहेका ती पुरुषको परिचय सार्वजनिक गरिएको छैन ।

कोरोना संक्रमणबाट निको भएका व्यक्तिको प्लाज्मा दिएपछि संक्रमितको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतम ले लेखेका छन् ।