पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो

अध्यक्ष, प्रचण्ड

१७ साउन, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शनिबार तुलसीलाल अमात्यको स्मृतिमा भएको कार्यक्रममा पार्टी भित्रको बहस नेतृत्व प्राप्तिका लागि झिनाझम्टी नभएको बताएका छन् ।

पद प्राप्तिका लागि तछाडमछाड भइरहेको भन्ने प्रचार गर्न खोजिएको भन्दै प्रचण्डले भने, ‘यो पदको झिनाझम्टी विल्कुलै
होइन ।

अध्यक्ष प्रचण्डले पार्टीलाई कसरी अगाडि बढाउने ? विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस नेकपाभित्र भएको भन्दै त्यसलाई प्रतिक्रियावादीहरूले पद प्राप्तिको झिनाझम्टी भन्ने गरेकोले नपत्याउन उनले आग्रह गरेका छन् ।

‘पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो,’ प्रचण्डले भने, ‘पद हाम्रो विषय होइन । राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौं ।

पद दिएर कम्युनिष्टसँग एकता हुन नदिनेहरूसँग विगतमा आफू लड्दै आएको पनि प्रचण्डले बताए।

उनले कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकोले बहस स्वभाविक हुने बताए।

‘बहस गर्दा पार्टी फुट्न लाग्यो, छियाछिया हुन्छ भन्ने होइन,’ उनले थपे, ‘हामी जालझेल र ढाटछल गर्न सकिन्न । पार्टीभित्र तीखो बहस हुन्छ । बुर्जुवाहरूमा भने तीखो बहस हुन्न, लुटेर खाने कुरामा उनीहरू एक हुन्छन् ।

उनले पार्टी एकता रक्षा गर्दै देखा परेका विवादहरू ठिक ढंगले फस्यौट हुनुपर्ने बताएका छन् ।