आफूलाई छोडेर अरुलाई साथ दिएको भन्दै गुनासो

१६ साउन, काठमाण्डौ । हिजो बिहीबार प्रचण्ड निवास खुमलटारमा पूर्व माओवादी पक्षधर पाँच जना स्थायी कमिटी सदस्यहरूले आफुहरु लाई छोडेर अरूलाई साथ दिएको भन्दै गुनासो सहित आपत्ति जनाएका छन् ।

प्रचण्ड निवास खुमलटारमा स्थायी समिति सदस्यहरु टोपबहादुर रायमाझी, मणि थापा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, चन्द्रप्रकाश खनाल र जनार्दन शर्मा खुमलटार पुगेका थिए ।

श्रोतका अनुसार भेटघाटको संयोजन स्थायी समिति सदस्य शर्माले गरेका थिए ।

स्थायी समिति सदस्यहरुले पार्टी एकताका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न सुझाव दिएको एक स्थायी कमिटी सदस्यले बताए ।

उनीहरूले महाधिवेशन सम्म वरिष्ठ नेता माधव नेपालसँगको समिकरण भन्दापनि प्रधानमन्त्रीसँग नै मिलेर अगाडि बढ्न सुझाव दिएको अर्का स्थायी कमिटी सदस्यले बताए ।

’हामीले एकताको लागि पहल गर्नुस भन्यौ’, स्थायी समिति सदस्य हरिवोल गजुरेलले भने,’उहाँले म त प्रयत्न गर्छु र गरिरहेको छु । तपाईंहरूले पनि हौसला दिनुहोस् भन्नुभयो ।

अर्का स्थायी कमिटी सदस्य मणि थापाले अहिलेको अवस्थामा समिकरण बनाउनमा भन्दा पनि पार्टी एकतामा ध्यान दिन जरुरी रहेको धारणा आफुले राखेको बताए ।

’उहाँलाई हामीले पार्टी एकताको निम्ति साथ दिएको हो । त्यसैले पार्टी एकता गर्नपर्यो भनेर भनेका छौं’, थापाले भने,’समस्या समिकरणमा हो भन्ने लागेको छ । पार्टी एकता गर्ने गरी हाम्रो साथ रहन्छ भनेर हामीले भनेका छौ ।

स्थायी कमिटी सदस्यहरुको भेटमा प्रचण्डले मुख्य कमजोरी आफ्नो नभई ओलीको भएको बताएका थिए । उनले पूर्व माओवादीहरु एक ठाउँमा हुनुपर्नेमा समेत जोड दिएका थिए ।

’प्रधानमन्त्रीले महाधिवेशनबाट वैधानिक रुपमा छोड्छु भन्नुभएको छ । सहमतिमा एक पद छोड्ने या पार्टी निर्णय मान्न ओली तयार हुनुपर्ने अडान राख्नुभएको छ’, स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ’महाधिवेशनमा गएर भएपनि अहिलेको समस्या समाधान गर्नुपर्छ । निकासका लागि भने प्रधानमन्त्री तयार हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।