नेपालगंजमा तीन दिनका लागि निषेधाज्ञा जारी

१५ साउन, बाँके । लकडाउन खुलेसँगै पुन बढ्न थालेपछि बाँके जिल्लाको नेपालगंज समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि नेपालगन्जमा तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो पटक रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि आउँदो आइतबार १८ गतेदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

नेपालगन्जमा बिहीबार बसेको बाँके जिल्लास्तरीय कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

‘शुक्रबार र शनिबार उच्च सतर्कता अपनाउँदै पहिलो चरणमा आइतबारदेखि तीन दिनसम्म नेपालगन्जका सबै वडामा तीन दिनसम्म पूर्णरुपमा कफ्र्यू (निषेधाज्ञा) लगाउने निर्णय भएको छ,’

नेपालगन्जमा बिहीबार बिहान मात्रै २७ जनामा कोरोना पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा नेपालगन्जका २० जना र बाहिर जिल्लाबाट आएर बसेका ७ जना सरकारी कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

बाहिर जिल्लाका ७ जनासहित आन्तरिक राजश्व कार्यालय नेपालगन्जका ११ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार क्वारेन्टाइनमा नरहेका विद्यार्थी र कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।