बैंकहरुमा थुप्रियो पैसा

१५ साउन, काठमाण्डौ । बैंकहरुमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकहरुमा २ खर्ब रुपैयाँ भन्दा बढी तरलता थुप्रिए पछि रिभर्स रिपोमार्फत नेपाल राष्ट्र बैंकले तरलता तान्न लागेको हो ।

७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दछ । राष्ट्र बैंकले बजारमा तरलता अपुग भएको बेला रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण रिभर्स रिपो हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको राष्ट्र बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ ।

बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ ।

तरलता प्रशोचन गर्ने प्रयोजनार्थ प्रयोग हुने रिभर्स रिपो उपकरणको बोलकबोल आह्वान तथा निष्कासन गर्दा नेपाल राष्ट्र बैंकले आप्mनो स्वामित्वमा रहेको ट्रेजरी बिल धितो स्वरूप राख्नु पर्ने व्यवस्था छ ।

रिभर्स रिपो भुक्तानी मितिमा निष्कासन मितिका दिन सफल बोलकर्ताको खाताबाट खर्च गरी लिएको रकम सोही खाता जम्मा गरी एकमुष्ट साँवा ब्याज रकम भुक्तानी गर्ने गरिन्छ ।