प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जनामा कोरोना संक्रमण

१५ साउन, काठमाण्डौ । कोरोना भाइरसका संक्रमित थपिने क्रममा पछिल्लो समयमा सुरक्षा अंगमा देखिन थालेको छ । देशका विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना देखिने क्रममा प्रहरीकै हेटक्वाटरमा समेत संक्रमण देखिएको छ । आज पनि प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोनाभाईरसको संक्रमण देखिएको छ । शुरुमा चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप ९ जनामा संक्रमण देखिएको हो ।

योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ४४ पुगेको प्रहरी प्रवक्ता (एसएसपी) कुवेर कडायतले बताएका छन् । अधिकांश संक्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।

प्रहरी प्रधान कार्यालयको सवारी (एमटी) शाखामा कार्यरत एकजना प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो । त्यसपछि अरुमा पनि एकपछि अर्को गरी देखिन थालेको हो ।