कक्षा ११ को नयाँ पाठ्यक्रम पठनपाठनसँगै शुरु हुँदै

१३ साउन, काठमाण्डौं । सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ । विद्यालय शिक्षा परीक्षा (एसईई)को नतिजा आउनसाथ कक्षा ११ को नयाँ शैक्षिक सत्र कार्यान्वयनमा आउनेछ । एसईईको नतिजा अन्तिम अवस्थामा पुुगिसकेको छ ।

विगत तीस वर्षदेखि कक्षा ११ मा धेरै विषयको पाठ्यक्रम परिमार्जन हुन नसकेको अवस्थामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णयमा पुनः विचार नहुने र ढुक्क भएर यसको तयारी थाल्न पाठ्यक्रम विकास केन्द्रका अधिकारीहरूले आह्वान गरेका छन् । केन्द्रका निर्देशक गणेश भट्टराईले सानातिना समस्या भए पनि आफ्नो निर्णयबाट सरकारपछि नहट्ने बताए । राजनीतिक प्रणाली परिवर्तन भए पनि पाठ्यक्रममा परिमार्जन हुन नसकेको उल्लेख गर्दै नयाँ पाठ्यक्रम लागू गर्ने अवसरबाट पछि हट्न नहुने र सरकार यसमा अडिग रहेको उनले बताए । कक्षा ११ को नेपाली, अङ्ग्रेजी र सामाजिक तथा जीवन उयोगी शिक्षा गरी तीनवटा अनिवार्य विषयका पुस्तक सरकारले नै उपलब्ध गराउने जानकारी उनले  दिए । केन्द्रले हालसम्म ७५ वटा विषयको नयाँ पाठ्यक्रम तयार पारेको जनाएको छ ।

पाठ्यक्रममा भएका कमी कमजोरीलाई बर्सेनि परिमार्जन गर्न सकिने उल्लेख गर्दै उनले शिक्षकको तालिम, अभिमुखीकरण लगायतमा सरकारले विशेष ध्यान दिने विश्वास व्यक्त गरे । हाल विद्यालय तहमा कार्यरत शिक्षकबाटै कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्न सकिने विश्वास उनले व्यक्त गरे ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।