काठमाण्डौ महाबौद्धका एकै परिवारका पाँच जनामा कोरोना पुष्टि

१२ साउन, काठमाडौं । महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ । स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरेका छन् ।

सीतामडीमा विवाह गरेकी युवती लकडाउन खुलेपछि वीरगन्ज हुँदै काठमाडौं आएको स्रोतले बतायो । पर्सा घर भई महाबौद्धमा बस्ने ती व्यवसायीको विस्तृत परिचय खुलाइएको छैन ।

उनको घरपरिवारका सबै सदस्यको पीसीआर परीक्षण गरिएको थियो । उनीहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गरेको छैन ।

शुक्रराज अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले एकै परिवारका पाँच सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि गरे । माइत आएका बेला परिवारका अन्यमा संक्रमण भएको हुन सक्ने डा. राजभण्डारीले बताए । नाति, नातिनीसहित हजुरबुवा, हजुरआमा, आमालाई पनि संक्रमण पुष्टि भएपछि शुक्रबार र आइतबार अस्पतालमा भर्ना गरिएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।