नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला भदौ २ र ३ गते हेटौडामा गर्ने तयारी

११ साउन, काठमाडौं । नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला भदौ २ र ३ गते हेटौडामा गर्ने तयारी विभिन्न संघ–संगठन बिच छलफल  भएको छ । आउदो भदौ २ र ३ गते हेटौडामा नेपाल पत्रकार महासंघले राष्ट्रिय भेला गर्ने तयारी गरिरहेको छ । उक्त भेलामा महासंघका देशभरका जिल्ला र प्रदेश शाखाका अध्यक्षहरु समावेश हुने भएका छन ।

भेलाको तयारीका सन्दर्भमा आज पत्रकार महासंघले केन्द्रीय कार्यालयमा संचारसम्बद्ध विभिन्न संगठनहरुसँग छलफल समेत गरेको छ । छलफल कार्यक्रममा प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन, प्रेस संगठन, मधेशी पत्रकार समाज लगायत विभिन्न संघ, संगठनका नेताहरुले महासंघलाई सुझाव दिएका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले उक्त कार्यक्रममा बोल्दै महासंघको विधानले गरेको व्यवस्था तथा पोखरामा सम्पन्न साधारण सभाले दिएको निर्देशन अनुसार महासंघ महाधिवेको चरणमा प्रवेश गरेको बताउदै राष्ट्रिय भेलाबाट त्यसको मिति ठोस गर्न लागेको बताएका थिए । उनले महासंघको सदस्यता सम्बन्धी सम्पूर्ण अधिकार शाखा र प्रदेश समितिलाई रहेको भन्दै साउन मसान्त भित्र नयाँ सदस्यता स्वीकृति र नविकरण भइसक्नुपर्ने बताए । उनले कुनै शाखाले सदस्यता आवेदन लिन नमानेको अवस्थामा आवेदकले कारण खुलाई प्रदेश समितिमा बुझाउन सकिने समेत बताए ।

कार्यक्रममा आफ्नो संगठनको तर्फबाट सुझाव दिदै प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीले महासंघको नविकरण गर्ने सम्बन्धमा सबै पत्रकारलाई सूचना प्रदान गरी धेरै भन्दा धेरै पत्रकारकालाई समेट्नुपर्ने बताए । उनले कतिपय जिल्ला शाखाले योग्यता पुगेका पत्रकारहरुको समेत आवेदन फारम नबुझ्ने तथा महासंघको विधान विरुद्ध उभिने काम गरेको आरोप लगाए । प्रेस सेन्टर नेपालका अध्यक्ष जैसीले आफ्नो संगठनले कोरोना संक्रमण नियन्त्रणमा पत्रकारको भूमिका विषयमा देशव्यापी छलफल कार्यक्रम सम्पन्न गरेको र जोखिममा रिपोर्टीङमा निस्कने पत्रकारहरुले भोग्नुपरेको समस्यामा सहजिकरण गरेको बताए । उनले जोखिममा काम गरिरहेका पत्रकारहरुको समस्यामा नेपाल पत्रकार महासंघले उचित ढंगको पहलकदमि नगरेको र त्यसमा देशभरका पत्रकारहरुको असन्तुटि रहेको भन्दै नेतृत्वले त्यसलाई सच्याएर अघि बढ्न आवश्यक रहेको तर्क गरेका थिए ।

उनले पेशागत सुरक्षाको माग गर्दै पत्रकारहरुले गरेको आन्दोलनमा पत्रकार महासंघ प्रत्यक्ष रुपमा सहयोगमा नदेखिएको भन्दै आलोचना समेत गरे । अध्यक्ष जैसीले महासंघले गर्न लागेको भेला उद्देश्य केन्द्रीत सफलतामा पुगोस् भन्दै शुभकामना समेत दिए । उनले महासंघलाई सबैको साझा संस्थाको रुपमा सबैले अनुभूति गर्न सक्ने गरि विकास गर्नुपर्नेमा विशेष जोड दिएका थिए । त्यस्तै उक्त कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका नेता कमल बुढाले महासंघको भेला हेटौडामा राख्दा उचित हुने भन्दै त्यसमा महासंघभित्रका समस्याहरु, संघर्ष र थप नयाँ विषयहरुमा समेत छलफल गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

क्रान्तिकारी पत्रकार संगठनका नेता बुढाले श्रमजीवि पत्रकारलाई महासंघको सदस्यता प्रदान गर्नुपर्ने भन्दै पत्रकारको पेशागत सुरक्षामा महासंघको भूमिका महत्वपूर्ण रहेको बताए । उनले श्रमजीवी पत्रकार तथा कर्मचारीहरु पछिल्लो चरणमा मिडिया मालिकका कारण समस्यामा परेको भन्दै त्यसको लागि निर्णायक आन्दोलन गर्न आवश्यक रहनेमा जोड दिए । कार्यक्रममा प्रेस संगठनका सदस्य राजेश राईले पत्रकार महासंघको सदस्यता नविकरणका लागि धेरै पत्रकार बाँकी रहेको भन्दै श्रमजीवि पत्रकारलाई महासंघको सदस्यबाट बञ्चित गर्न नहुने बताएका थिए ।

त्यस्तै लोकतान्त्रीक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडीले कोरोनाको महामारीलाई मध्यनजर गर्दै आवश्यक सुरक्षासहित महासंघले भेला तथा अन्य गतिविधि गर्नुपर्ने बताए । आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ्गले महासंघको महाधिवेशन सहति हरेक गतिवधिका साथ रहने बताउनदै सदस्यता सुद्धीकरणमा जोड दिनुपर्ने बताए । त्यस्तै मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले कोरोनाको महामारीका कारण आसन्न महासंघको भेलालाई प्रविधिलाई विकल्पका रुममा प्रयोग गर्न सकिने बताए ।

त्यस्तै मधेशी पत्रकार संघका विवेकानन्द मिश्रले महासंघको सदस्याता वितरण तथा नविकरणमा विषेश ध्यान दिनुपर्ने धारणा राखे । त्यस्तै प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालले सामाजिक सञ्जाल र यूट्वका कारण समाजमा पत्रकारप्रति नकारात्मक भावना बढ्न थालेको भन्दै त्यसको निराकरण गर्न आवश्यक रहेको बताए । उनले जिम्मेवार पत्रकारिताका लागि महासंघले पहल गर्नुपर्ने धारणा राखें ।

कार्यक्रममा विभिन्न संघ संगठनका नेताहरुले महासंघलाई साझा र सबैलाई अपनत्व हुने गरी पेशागत हक, अधिकारको संघर्षलाई अघि बढाउने योजनाका साथ अघि बढाउनुपर्ने साझा सुझाव दिएका थिए ।नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला भदौ २ र ३ गते हेटौडामा गर्ने तयारी