किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल, परामर्शमै १० अर्ब स्वाहा

८ साउन, काठमाण्डौ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन्। किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल भएको यसले देखाएको छ।

यी आयोजना किसानको उन्नति र खाद्य तथा पशुपन्छी उत्पादनमा आत्मनिर्भरताका नाममा वैदेशिक दातृ निकाय र सरकारको खर्चमा सञ्चालनमा छन् । परामर्श सेवाका नाममा कुल बजेटको १ प्रतिशतदेखि ४० प्रतिशतसम्म खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले यो विषयलाई गम्भीर भनेको छ ।

आईफ्याडको सहयोगमा कृषि क्षेत्र विकास कार्यक्रम, उच्च मूल्य कृषि वस्तु विकास आयोजना र किसानको लागि उन्नत बीउबिजन कार्यक्रम सञ्चालित छन् । विश्व बैंकको सहयोगमा जलवायु प्रकोप समुत्थान निर्माण आयोजना, कृषि तथा खाद्य सुरक्षा आयोजना, व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट), नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना
छन् ।

आईडीएको सहयोगमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, एडीबीको सहयोगमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना र उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना सञ्चालित छन् । यसमध्ये कतिपयको अवधि सकिएको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् ।