बैदेशिक रोजगारीमा २७.५९ प्रतिशतले हिरावट

५ साउन, काठमाडौं । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक घटेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५–७६ को तुलनामा आर्थिक वर्ष २०७६–७७ मा श्रम स्वीकृति लिने श्रमिक २७.५९ प्रतिशतले घटेका छन् ।
विश्व महामारीका रूपमा फैलिएको कोरोनाका कारण स्वदेशमा श्रम स्वीकृति बन्द हुनुका साथै स्वदेश तथा विदेशमा बन्दाबन्दीले सबै उडान ठप्प हुँदा यो सङ्ख्या घटेको हो । विभागका अनुसार आर्थिक वर्ष २०७५–७६ मा पाँच लाख आठ हजार ८०२ जनाले श्रम स्वीकृति लिएर विदेशिएकोमा आर्थिक वर्ष २०७६–७७ मा तीन लाख ६८ हजार ४३३ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएका पनि धेरैजसो अझै जान पाएका छैनन् ।

गत फागुनदेखि नै श्रम गन्तव्य मुलुक र नेपालमै पनि कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा श्रम स्वीकृति लिएका पनि जान पाएका छैनन् । रोजगारीमा गएकामध्ये अहिले पनि कतिपय विदेशमै अलपत्र परेर सरकारले चार्टर उडानमार्फत स्वदेश फिर्ता गरिरहेको छ । नेपाल सरकारले गएको फागुन २९ गतेबाट श्रम स्वीकृति दिन बन्द गरेको
थियो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले यो वर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्ला वर्षभन्दा घट्नु स्वाभाविक भएको बताए । उनले गत आर्थिक वर्षको चार महिना त श्रम स्वीकृति र अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द भएकाले श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको बताए ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।