काठमाण्डौंको गोलढुङ्गामा चोर ठानी कुटपिट गर्दा एक जनाको मृत्यु

२ साउन, काठमाण्डौ । काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका वडा नम्वर ५ गोलढुंगामा स्थानीयको कुटपिटपछि एक जनाको मृत्यु भएको छ ।

मापसे गरेर सडकमा होहल्ला गरेको भन्दै स्थानीयले चोरको आरोप लगाएर कुटपिट गर्दा रसुवा घर भई कपुरधारा बस्दै आएका २४ वर्षीय छिरिङ तामाङको मृत्यु भएको छ भने सँगै रहेका अर्का घाइते भएका छन् ।

‘मध्यरातमा दुई जना युवाहरु मापसे गरेर सडकमा होहल्ला गर्दै हिँडेका रहेछन्, त्यही क्रममा अर्को घरका घरबेटीसँग सामान्य विवाद परेपछि झगडाले उग्र रुप लियो, त्यसपछि चोर भन्दै सबैले उनीहरुलाई लखेटे’ महानगरीय प्रहरी बृत्त बालाजुका डिएसपी रञ्जित सिंह राठोरले भने ‘लखटेपछि उनीहरुले दुवैलाई कुटेछन् ।

कुटपिटपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्दा दुवैजना घाइते अवस्थामा रहेको राठौरले बताए ।

उनीहरुलाई प्रहरीले आफ्नै गाडीमा राखेर शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएको थियो । अस्पतालले नै छिरिङलाई मृत घोषणा गरेको थियो ।

मृतकको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनका साथी दोर्जे भने अस्पतालबाट घर फर्किसकेको राठोरले जानकारी दिएका छन् ।

घटनाको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।