२ साउन, काठमाण्डौ । साना करदाताले अबदेखि बढीमा १० मिनेटमै आय विवरण र कर दाखिला गर्न सक्ने भएका छन् । कर दाखिला प्रक्रियामा रहेको झन्झट कम गर्न आन्तरिक राजस्व विभागले विकास गरेको उक्त प्रणालीमार्फत करदाताले नजिकैको बैङ्कमार्फत नै कर र आय विवरण दाखिला गर्न पाउने सुविधा उपलब्ध छ ।
चालू आर्थिक वर्ष २०७७र७८ को पहिलो दिन सुरु गरिएको यो प्रणालीमा वार्षिक २० लाखसम्म कारोबार र दुई लाख रुपियाँसम्म आय भएका साना करदाता सहभागी हुन पाउनेछन् ।
महालेखा नियन्त्रक कार्यालय, नेपाल राष्ट्र बैङ्क र राजस्व असुल गर्ने बैङ्क सँगको समन्वयमा विभागले निर्माण गरेको उक्त सफ्टवेयरमा करदाताको आय र कर विवरण दाखिला गरेपछि प्रणालीले नै स्वतः करको हिसाबकिताब गरेर बक्यौता रहे नरहेको जानकारी तथा बक्यौता नरहेको अवस्थामा कर चुक्ता प्रणाली जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।
साना करदाताको हकमा यो प्रणालीमा सहभागी हुन विभागले जारी गरेको आय विवरण तथा कर दाखिला फारम भने भर्नु पर्नेछ । उक्त फारममा करदाताले आफ्नो स्थायी लेखा नम्बर, आय वर्ष, कारोबार रकम र कट्टी हुने रकम, आफ्नो नाम, दस्तखत र मोबाइल नम्बर भने उल्लेख गर्नु पर्नेछ ।
यसरी करदाताले उपलब्ध गराएको उक्त फारमका आधारमा बैङ्कले विभागले तयार गरेको प्रणालीमार्फत तत्काल नै कर बक्यौता रहे नरहेको जानकारी, बक्यौता रहे तत्काल नै तिर्न सक्ने व्यवस्था र कर चुक्ता प्रणाली करदाताका लागि उपलब्ध गराउन सक्नेछ । यो प्रणालीमा करदाताले अबदेखि एक पटकमा एकभन्दा बढी आय वर्षको आय विवरण र कर दाखिला पनि गर्न सक्नेछन् ।
यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।