एक वर्षको अवधिमा ३ खर्ब ८४ अर्ब ३१ करोड राजस्व संकलन

२ साउन, काठमाण्डौ । आन्तरिक राजस्व विभागले एक वर्षको अवधिमा ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाएको छ । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरस प्रभावका बाबजुद पनि करिब चार महिनाको लकडाउन असार लागेपछि केही खुकुलो भएसँगै विभागले गत आर्थिक वर्ष २०७६र७७ को असार मसान्तसम्ममा सो परिणामको राजस्व संकलन गरेको हो ।

जसमध्ये आयकरतर्फ २ खर्ब १७ अर्ब २६ करोड, अन्तःशुल्कतर्फ ६४ अर्ब ७९ करोड र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ९८ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, शिक्षा, स्वास्थ्य सेवा शुल्क र अन्य करबापत ४ अर्ब ४ करोड रुपैयाँ गरी कुल ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको भएको विभागले जनाएको छ ।

विभागका अनुसार अघिल्लो आव २०७५र७६ मा संकलन भएको कुल ३ खर्ब ५८ अर्ब ४१ करोड रुपैयाँभन्दा करिब ७ प्रतिशतले बढी हो । यो रकम अघिल्लो आवको भन्दा २६ अर्ब १० करोड रुपैयाँले बढी भएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक विनोदबहादुर कुँवरले करोना भाइरसको प्रभावले मुलुकको आर्थिक अवस्था बिग्रिएको तथा संकटका बेला पनि उत्साहजनक रूपमा राजस्व संकलन भएको बताए । उनले आमकरदाताले स्वस्फूर्त रूपमा राजस्व तिरिदिएकाले सरकारलाई सहयोग भएको बताए ।

कोरोनाका कारण विगत तीन महिनाभन्दा बढी समयको लकडाउन गत १ असारबाट केही खुकुलो भएसँगै सेवाग्राही एवं व्यवसायीले स्वस्फूर्त रूपमा राजस्व बुझाइदिएकाले छोटो समयमा नै यति धेरै राजस्व संकलनमा आफूहरूलाई सफलता मिलेको महानिर्देशक कुँवरले बताए ।

यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।