१ साउन, काठमाडौं । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच त्रिपक्षीय छलफल सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे ११ बजेपछि सुरु भएको छलफलमा आज नेता नेपाललाई पनि सहभागी गराइएको हो ।
नेता नेपाललाई समेत वार्तामा वोलाएपछि आजको छलफलले निकास दिन सक्ने आशा जागेको नेताहरुले बताएका छन् । दुई अध्यक्षबीच हुदै आएको वार्तामा बरिष्ठ नेता नेता नेपाललाई समेत सहभागी गराइपछि केही सहमति भएर निष्कर्षउन्मुख हुनसक्ने नेकपा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिए ।
‘वार्ताहरु बाक्लो बन्न थालेका छन् । सकारात्मक पनि बन्दै गएको भन्नेसम्म बुझिएको छ । यसले पनि सकारात्मक संकेत दिएको छ भनेर बुझ्न सकिन्छ । शीर्ष नेताहरु लागेपछि कुरा नमिल्ने भन्ने हुँदैन’, नेता नेम्वाङको भनाइ छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले तीनजना नेता बसेर सहमति खोज्न सक्ने भन्दै त्यसपछि मात्रै के हुन्छ भनेर भन्न सक्ने बताए ।
‘उहाँहरु बस्दै हुनुहुन्छ । वार्तामा के हुन्छ भन्ने कुरा बसिसकेपछि मात्रै थाहा होला’, प्रवक्ता श्रेष्ठले भने, नेकपाका लाखौँ नेता कार्यकर्ताको भावनाअनुसार अघि बढ्नुहुन्छ भन्ने मलाई लागेको छ ।’
यसअघि ओली–प्रचण्डबीच पटकपटक भएका वार्तामा सहमति जुट्न नसकेपछि आजको वार्तामा नेता नेपाललाई समेत सहभागी गराउन दुई नेता सहमत भएका हुन् ।
बुधबार करिव ३ घण्टा ओली प्रचण्डबीच वार्ता भएपनि कुनै सहमति जुट्न सकेको थिएन ।
शुक्रबार बस्ने स्थायी समिति बैठकअघि सहमतिको बिन्दु पहिल्याउन ओली र प्रचण्डबीच भएका यसअघिका वार्तामा ओलीले राजीनामा नदिने अडान राखेपछि सहमति जुट्न सकेको छैन । गत असार १६ गतेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले दुवै पदबाट ओलीलाई राजीनामा दिन सुझाव दिएपनि उनी आफूले राजीनामा नदिने बताउँदै आएका छन् ।
अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले पार्टी र सरकार सञ्चालनमा ओली असफल भएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने पक्षमा छन् ।
नेताहरुबीच पार्टी एकताअघिको २०७५ जेठ २ मा भएको सहमति अनुसार अघि बढ्ने कि २०७७ मंसिर ५ को सहमतिअनुसार अघि बढ्ने भन्नेमा मतभेद छ । प्रचण्डसहतिका नेताहरु जेठ २ को सहमतिअनुसार ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन् भने ओली मंसिर २ को सहमति अनुसार नै अघि बढ्नुपर्ने बताउदै आएका छन् ।
जेठ २ मा ५ वर्षे कार्यकालमा आधाआधा समय ओली र प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति छ भने मंसिरमा पुरै समय ओलीले सरकारको नेतृत्व गर्ने र पार्टीको एकता महाधिवेसनसम्म प्रचण्डले पार्टी नेतृत्व गर्ने सहमति भएको थियो ।
तर, दुवै सहमतिलाई नयाँ ढंगले व्याख्या गर्दै त्रिपक्षीय सहमतिका आधारमा अघि बढ्नुपर्ने वरिष्ठ नेता नेपाल पक्षको भनाइ छ । नेता नेपालले यसअघि नै एक पद एक जिम्मेवारी लागू गर्नुपर्ने भन्दै सचिवालय बैठकमा नोटअफ डिसेन्ट राख्दै आएका छन् ।
समाचार रातोपाटीबाट