२२ करोड भन्दा बढीको आलु उत्पादन

३० असार, काठमाडौं । मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् ।

स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियां भन्दा बढीको आलु उत्पादन गरेका छन् । गत वर्षभन्दा आलु उत्पादनमा गिरावट आएको बताउंदै थाहा नगरपालिकाको कृषि विकास शाखाका शाखा अधिकृत सञ्जय तिवारी यो वर्ष २२ करोड ५० रुपियांभन्दा बढीको आलु उत्पादन भएको जानकारी दिए ।

आलु फल्ने समयमा अधिक वर्षा भएर आलु उत्पादनमा ह्रास आएको भन्दै उहांले भन्नुभयो, बढी पानी पर्दा खाद्यान्न, तरकारी लगायतका सबै बालीमा नोक्सनी भएको छ । आलु उत्पादनमा ह्रास आए पनि गत वर्षभन्दा कृषकले आलुमा यो वर्ष राम्रो मूल्य पाएका छन् । गत वर्ष प्रतिहेक्टर २० टन आलु उत्पादन भएकोमा यो वर्ष थाहा नगरमा प्रतिहेक्टर १५ टन मात्र आलु उत्पादन भएको अनुमान छ । यो वर्ष नौ हजार टन आलु उत्पादन भएको अनुमान छ, तिवारीले भने ।

कृषकले गत वर्ष आलु प्रतिकेजी १८ देखि ३० रुपियांसम्ममा बिक्री गरेकोमा यो वर्ष सुरुमा प्रतिकेजी १८ रुपैयांमा बिक्री भएकोमा पछि सेतो आलु प्रतिकेजी ४० रुपैयां र रातो आलु प्रतिकेजी ४४ रुपैयांसम्ममा बिक्री गरेका छन् ।

दामन, पालुङ र वज्रवाराही क्षेत्रको आलु उत्पादन भई बिक्री अन्तिम चरणमा पुगेको र आग्रा क्षेत्रको आलु निस्कँदा अहिलेको मूल्यलाई हेर्दा प्रतिकेजी ५० रुपियां बारीमा नै पर्ने आकलन गरिएको उनले बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।