चुटिन लागेको नेकपाको डोरी जोडिएकै हो त ?

२९ असार, काठमाण्डौ । सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको थियो । बढ्दै गएको विवादले पार्टी विभाजनको खतरामा पुगे पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लगातारको छलफल र संवेदनशीलताले पार्टीलाई विभाजन हुनबाट बचाएको नेताहरूले बताएका छन् ।

दुई अध्यक्षबीच लामो समयसम्म भएको ‘वान टु वान’ छलफल र संवादले नेकपामा देखिएको संकटलाई समाधान गरेको दुई अध्यक्षहरूकै पछिल्ला अभिव्यक्तिले पुष्टि गरेको छ । अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी एकताको पक्षमा दिएका अभिव्यक्तिले नेकपामा चुँडिन लागेको एकताको डोरी जोडिएको विश्वास अन्य नेता तथा कार्यकर्ताहरूले गरेका छन् । स्रोतका अनुसार नेकपा फुट्छ कि भन्ने चिन्ताले देशभरका कार्यकर्ता र दोस्रो तहका युवा नेताले दबाब दिँदै आइरहेका छन् ।

हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन हदैसम्म लचकताका साथ लागिपरेको छु । एकअर्कालाई उकास्ने काम कसैले नगरौं : दाहाल

सोही दबाबकै कारण अध्यक्षद्वय पार्टीलाई एकजुट बनाएर लैजाने निष्कर्षमा पुगेको बताइएको छ । प्रधानमन्त्री ओलीले गत शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै पार्टीभित्रको समस्या छलफलमै टुंगो लगाउने प्रतिबद्धता जनाएका थिए । ओलीले कुनै पनि राजनीतिक दलभित्र हुने बहस र विवादलाई निष्कर्षमा पु¥याउने काम सम्बन्धित पार्टी र नेताको भएको भन्दै सहज समाधान निस्कने विश्वास दिलाएका थिए ।

पार्टीभित्र पछिल्लो समय चर्किएको विवादका विषयलाई लिएर पार्टीभित्र हुने छलफल, बहस र विमति नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रियासमेत भएको भन्दै उनले ती सबै समस्या समाधान हुने दृढता व्यक्त गरेका थिए । उनले आमनेता तथा कार्यकर्तालाई धैर्य र संयम रहन आग्रह गर्दै पार्टीभित्र देखिएका तमाम विवाद छलफल र संवादको माध्यमद्वारा हल गरिने बताएका थिए । प्रधानमन्त्री ओलीले समस्या समाधान गर्न आपूmले हदैसम्मको प्रयास गरेको बताएर पार्टी एकतालाई कुनै हालतमा पनि टुट्न नदिने संकेत गरेका छन् ।

यस्तै, नेकपा अध्यक्ष दाहालले आइतबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरे । पार्टी एकतालाई जोगाउने दायित्व सबै नेता, कार्यकर्ताको रहेको बताउँदै उनले आफूले समेत त्यसका लागि हदैसम्मको प्रयास जारी राख्ने बताए । दाहालले चितवनमा गएर पार्टी एकताको पक्षमा अभिव्यक्ति दिएपछि कार्यकर्ता पंक्तिमा समेत उत्साह छाएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।