केएमसी अस्पतालमा उपचाररत मृत्यु भएका ५४ बर्षे पुरुषमा कोरोना पुष्टि

२७ असार, पोखरा । काठमाडौंको सिनामंगलस्थित केएसमी अस्पतालमा मिर्गौलाको उपचार गरिरहेका ५४ वर्षीय एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको छ ।

गत बिहीबार मृत्यु भएपछि उनको स्वाब परीक्षण गर्न पठाइएकोमा हिजो शुक्रबार बेलुकी नतिजा आउँदा पोजेटिभ आएको हो । उनको शव शनिबार बिहानै नेपाली सेनाको टोलीले दाहसंस्कारको लागि लगेको अस्पतालले जनाएको छ ।
उनी गत असार १९ गते अस्पताल भर्ना भएका थिए ।

अस्पतालका अनुसार भर्ना हुँदा नै उनको अवस्था गम्भिर थियो । ‘उहाँमा मिर्गौला, खुट्टाको क्यान्सर, थाइराइडको समेत समस्या थियो । अस्ति मृत्युपछि कोरोना परीक्षण गर्दा उहाँको रिपोर्ट पोजेटिभ आयो,‘ अस्पताल स्रोतले भन्यो ।

मृतकको ठेगाना काठमाडौं लेखिएको पाइएको छ । तर उनी ठ्याक्कै कुन ठाउँको हो भन्ने यकिन भएको छैन ।

योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।