२४ असार, काठमाण्डौं । काठमाडौँ महानगरवासीले अब हरियाली तथा खुला ठाउँको मज्जा लिन पाउने भएका छन् । महानगरले अतिक्रमित सार्वजनिक तथा ऐतिहासिक जग्गाको संरक्षणका लागि ३० भन्दा बढी पार्क निर्माण गर्ने भएपछि साँझबिहान हरियाली तथा खुला ठाउँमा बसेर मनोरञ्जन लिने स्थानीयवासीको रहर पूरा हुने भएको हो ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेटमा पार्क निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
महानगरले आर्थिक वर्ष २०७७–७८ को बजेटमा समावेश गरेका योजनामा महानगर ज्येष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, ज्येष्ठ नागरिक आश्रम, शहीद पार्क, चेस पार्क, महानगर बाजेबज्यै पार्क, महिला मैत्री पार्कलगायत छन् । महानगरले ड्रिम परियोजनाका रूपमा अगाडि बढाएको मेगा हलमा पनि ६० प्रतिशत ठाउँमा खुला स्थान र हरियाली प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । मेगा हल निर्माणका लागि भृकुटीमण्डपमा अहिले करिब २८ प्रतिशत मात्रै खुला स्थान रहेको काठमाडौँ महानगरको सहरी योजना आयोगले जानकारी दिएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् ।