२१ असार, काठमाडौं । पहिरोविज्ञ कृष्ण देवकोटाका अनुसार सामान्य रूपमा तीन किसिमका पहिरो हुन्छन् । पहिलो भेल पहिरो अर्थात् गेग्रान बहाव, दोस्रो स्लोप फेलर अर्थात् सानो–सानो भिरालो जमिनमा जाने पहिरो र तेस्रो बिस्तारै सर्ने पहिरो हुन् ।
पहिलो खालको भेल पहिरो अग्ला पहाडमा बढी जान्छ भने तेस्रो प्रकारको पहिरो चुरे क्षेत्रमा जाने पहिरोमा पर्छ । दोस्रो खालको पहिरो भने नारायणगढ मुग्लिन सडक खण्डका जस्ता विकासे बाटो र निर्माणका कारण डाँडा काटिएपछि पहराबाट सुक्खा रूपमा झर्ने पहिरोलाई लिन सकिने उनले बताए ।
भेल पहिरो भने अधिक वर्षाका कारण कमजोर बनेका पहाडमा जानेगर्छ । देवकोटाले जतासुकै पहाड खनेर कमजोर पारिएको छ । त्यसपछि जोखिमको क्षेत्र पहिचान नगरी बस्ती बसेको छ, पछिल्लो कमजोरी यही हो भने । उनका अनुसार साधारणतया भेल पहिरो माटो वा माटो र ढुङ्गाको सम्मिश्रण भएको स्थानमा बढी जान्छ । माटोको ढिस्को भएका पहाड नेपालमा धेरै छन् ।
त्यस्ता पहाडमा खनिदिएपछि पहाडमा टाँड पर्छ । कतिपय स्थानमा खनेको माटो भीरतिर गएर अड्केर बस ेको हुन्छ । त्यसमा पानी परेपछि तौल बढ्छ । कमजोर भएको भित्रको माटो र थपिएको माटोसहित बगेर एकथरि भेल पहिरो जान्छ । अर्कोथरि खोल्सा खोल्सीको पानीले भित्रभित्रै माटोमा पानी पुगेपछि कमजोर भइसकेको भिरालो जमिन एक्कासि ठूलो पानी पर्दा भेलसँगै बगेर खस्छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।