अन्तिम पटक आज प्रधानमन्त्रीसँग छलफल गर्ने त्यसबाट पनि निकास आएन भने प्रधानमन्त्री विरुद्ध स्थायी कमिटीले निर्णय गर्छ

प्रचण्ड–नेपाल खेमा

२१ असार, काठमाडौं । सत्तारुढ नेकपामा चुलिएको विवादलाई साम्य पार्नका लागि भनेर स्थायी कमिटी बैठक रोकेर निकास खोज्ने प्रयास भए पनि विवाद झनै चुलिएर गएको छ । प्रधामन्त्री केपी शर्मा ओली खेमा र प्रचण्ड–माधव खेमा आ–आफ्नै अडानमा दृढ हुँदै गएका छन् ।

प्रधानमन्त्री ओलीले हिजो शनिबार साँझ मन्त्रीहरूलाई बालुवाटार बोलाएर आफूलाई ’हुलहुज्जत गरेर निकाल्न खोजिएको’ भन्दै सत्ता नछाड्ने अडान संकेत देखाउदै मन्त्रीहरूलाई पनि अब कतातिर लाग्ने भनेर कित्ता छुट्टयाउने समय समेत मागेका छन् ।

हिजो शनिबार बिहान प्रचण्ड–नेपाल खेमाका नेताहरूको पनि प्रचण्ड निवास खुमलटारमा बैठक बसेको थियो । विधि र पद्दति भन्दा बाहिर गएर प्रधानमन्त्रीले धम्क्याउन थालेको र सडकमा युवाहरूलाई आफ्नो पक्षमा प्रदर्शनमा उतारेकाले अब स्थायी कमिटीले धेरै नपर्खी निर्णय गर्नुपर्नेबारे छलफल भएको बताइएको छ ।

छलफलमा हामीले छलफलका लागि भनेर स्थायी कमिटी स्थगित ग¥यौं, तर उहाँले यो समय थप धम्क्याउन र सडकमा मानिसहरू उतार्न खर्च गर्नुभयो,’ एक नेताले भने, ’अब प्रधानमन्त्री सहमतिमा आउने कम गुञ्जायस देखिन्छ । त्यसैले, स्थायी कमिटीले नै निर्णय गरेर अगाडि बढ्नुपर्छ भन्नेमा सबैको सहमति भयो ।

अन्तिम छलफलका लागि एकपटक प्रधानमन्त्रीसँग बस्ने निधो प्रचण्ड–नेपाल खेमाले गरेको छ । त्यसैअनुसार आज आइतबार बिहान १० बजे प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटका लागि समय तय भएको छ । उक्त छलफलमा सहमति नआए प्रधानमन्त्रीविरूद्ध स्थायी कमिटीले निर्णय गर्ने ती नेताले बताए ।

स्थायी कमिटीका ४४ सदस्यमध्ये कम्तिमा ३० जना प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन् ।

प्रधानमन्त्री ओलीले पनि आफूविरूद्ध स्थायी कमिटीले गर्न सक्ने सम्भावित निर्णयविरूद्ध दबाब बढाएका छन् । हिजो शनिबार साँझ बालुवाटारमा मन्त्रीहरूसँगको छलफल त्यसैको एउटा कडी थियो ।

हिजै उक्त छलफलअघि उनले शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब सवा घन्टा भेट गरेका थिए । त्यो भेटपछि बालुवाटारमा मन्त्रीहरूसँग बोल्दै प्रधानमन्त्रीले आफू र राष्ट्रपतिविरूद्ध षड्यन्त्र भएको बताएका थिए ।

यो षड्यन्त्र चिर्न मन्त्रीहरूले पनि भूमिका खेल्नुपर्ने भन्दै आफूलाई साथ दिने वा प्रचण्ड–नेपालको पक्षमा उभिने भनी कित्ताकाट गर्नपर्ने बेला आएको उक्त अवसरमा बताएका थिए ।