अनेरास्ववियुसँग प्रधानमन्त्रीको गुनासो मलाई हटाउन खोजियो सडक तताउनुहोस्

१९ असार, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज साँझ पार्टीका युवा र विद्यार्थी संगठनका आफूनिकट नेताहरूलाई बालुवाटार बोलाएर आफूलाई विदेशीले हटाउन लागेको बताएका छन् ।

बालुवाटार पुगेका अनेरास्ववियुका ऐन महरका अनुसार प्रधानमन्त्री ओलीले पार्टी एकता अप्ठेरोमा परेको बताएका थिए ।

ऐन महरका अनुसार प्रधानमन्त्रीज्यूले अहिले पार्टी अप्ठेरोमा परेको छ । स्वदेशीले त मेरो राजीनामा माग्दैनन् । केही विदेशीले मलाई हटाउन खोजेका छन् तर उनीहरूले सक्दैनन् । पार्टी एकता मैले गरेको हो । म त्यसलाई जोगाउँछु भन्नुभएको थियो ।

तत्कालीन माओवादी केन्द्रनिकट विद्यार्थी तथा युवाले भने प्रधानमन्त्री ओलीले पछिल्लो समय देखिएको विवादमा आफ्नो पक्षमा प्रदर्शन गर्न निर्देशन दिएको बताएका छन् ।

‘पार्टी फुटको अवस्थामा पुगेकाले आफ्ना पक्षमा माहौल बनाउन प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी मैले पाएँ,’ अनेरास्ववियुका सह–अध्यक्ष रन्जित तामाङले भने,‘पार्टीभित्रको विवादलाई लिएर प्रधानमन्त्रीले आफ्ना कोटरीका मान्छेलाई बालुवाटारमा बोलाएर यस्तो निर्देशन दिनु खेदजनक छ ।

युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले पनि प्रधानमन्त्रीको समर्थनमा सडकमा नओर्लिन आग्रह गरेका छन् । भोलि अर्को पक्ष सडकमा जाँदा के हुन्छ भनेर उनले प्रश्न पनि गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले स्टाटस लेखेका छन्, हाम्रो पार्टीमा अहिले चलिरहेको छलफल, बहस, आलोचना र आत्मआलोचना पार्टीभित्र र बैठकमा चलिरहेको हो । जीवन्त पार्टीमा विधि र विधानभित्र बसेर भइरहेको बहसलाई सडकमा ल्याउने र जिन्दावाद, मुर्दावादको विषय बनाउने विषय होइन । सबै पार्टी नेताहरू समान छन् र हुनुपर्छ । पार्टीगत छलफलको एजेण्डा सडक वा सामाजिक सञ्जालको रमिताले हल गर्दैन । यसको समाधान कमिटी र प्रणालीमै खोज्नुपर्छ । यसर्थ विरोध या समर्थनमा सडकमा नजाऔं ! आज तिमी जाँदा भोलि अर्को गयो भने के हुन्छ ? समर्थक र विरोधी दुबै हुन्छन् भन्ने बुझौं !

शुक्रबार देशका विभिन्न ठाउँमा ओलीको पक्षमा प्रदर्शन भएका छन् भने केही ठाउँमा प्रदर्शनको तयारी भइरहेको छ ।