राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित निजामती विधेयक बारे सरकारको असहमति

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी विधेयकको प्रतिवेदनबारे थप अध्ययन हुने बताएका छन् ।

आज बुधबार निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग भएको भेटमा ओलीले असन्तुष्ट कर्मचारीका माग र चासोलाई ख्याल गरेर विधेयकमाथि थप अध्ययन हुने बताएका हुन् ।

समितिबाट पारित विधेयकको प्रतिवेदनमा विधेयक प्रस्तुतकर्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नै ३० बुँदे फरक मत तयार गरेर बसेका बेला प्रधानमन्त्री ओलीले समेत विधेयकबारे थप अध्ययन हुने प्रतिक्रिया दिएका हुन् ।