Breaking News

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा १३२ जनामा कोरोना संक्रमित

१७ असार, कैलाली । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज बिहान सुदूरपश्चिम प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप १३२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा ११५, वीर अस्पताल काठमाडौँको प्रयोशालाबाट १५ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालावाट २ जनामा संक्रमण पुुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको हो ।

यसरी पुष्टि भएका मध्ये कैलालीका १७ पुरुष र ४ महिला, बाजुराका १० पुरुष र ८ महिला तथा कञ्चनपुरका ९ महिला रहेका छन् । त्यसैगरि अछामका ४८ पुरुष र १८ महिला र डोटीका १७ पुरुष र १ महिला रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

प्रदेशमा हालसम्म १८ हजार ६०९ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र १६ हजार १२६ मा नेगेटिभ आएको उनले बताए । ५ हजार १२३ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १२ हजार ३८३ जनामा परिक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका १९९, बैतडीका २३४, बझाङ्गका ७२, बाजुरा ३३०, डडेल्धुराका २२९, दार्चुलाका १७, डोटीका ४२५, कैलालीका ६७६ र कंचनपुरका ३१६ गरि २ हजार ४९८ रहेका छन् । जसमा महिला ५७४ र पुरुष १ हजार ९२४ संक्रमित फेला परेका हुन् ।

क्वारेन्टिनमा ९ हजार ६३३ पुरुष र २ हजार ५४१ महिला रहेका छन् । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १८ र संक्रमित ९१ गरी १०९ जनाको उपचार भइरहेको छ । ६७२ जना भने सामान्य उपचारपछि घर गइसकेका छन् ।

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ४, टिकापुरमा ४०, महाकालीमा १२, अछाममा १०, बझाङ्गमा १, डोटी २, बाजुरा २ र मालाखेती अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको उनले बताए । बाँकी भने ९ वटै जिल्लाको आइसोलेसनमा रहेको कार्कीको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा १३२ जनामा कोरोना संक्रमितपशिचम प्रदेशमा ४ सय ७९ संक्रमित निको भई घर गईसकेका छन भने ६ जनाको मृत्यु भइसकेको छ ।