महिनौं दिन क्वारेन्टाइनमा बस्दा पनि कोरोना रिपोएट आएन

१४ असार, काठमाडौं । भारतबाट फर्किएका नागरिकको समयमै कोरोना रिपोर्ट नआउँदा क्वारेन्टाइनको बसाइ लम्बिँदैं गएको छ । क्वारेन्टाइनमा बसेको महिना दिन पुगे पनि रिपोर्ट नआउँदा बैतडीका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका छन् । स्वाब संकलन भएकाहरुको समेत समयमा रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका हुन् ।

क्वारेन्टाइनमा बसेको १ महिना पुग्न लाग्दा समेत रिपोर्ट नआउँदा समस्या भएको उनीहरुको गुनासो रहेको छ । पुर्चौंडी नगरपालिका–८ का लक्ष्मण विक जेठ ९ गतेदेखि पुर्चौंडी नगरपालिका–८ स्थित नेरा मावि क्वारेन्टाइनमा बसिरहेका छन् । लक्ष्मणको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्वाब संकलन गरी पठाइए पनि महिना दिन बितिसक्दा समेत पीसीआर रिपोर्ट नआउँदा क्वारेन्टाइनमै बस्न बाध्य भएका हुन् ।

यस्तै भारतबाट फर्केर गत जेठ १७ गतेदेखि क्वारेन्टाइनमा बसेको भए पनि हालसम्म पनि रिपोर्ट नआएको सुर्नया गाउँपालिका–२ का राजेन्द्र विष्टको गुनासो रहेको छ । नेपाल राष्ट्रिय मावि सिउडेको क्वारेन्टाइनमा बसेका राजेन्द्रलगायत अन्य १० जनाको आरडीटी पोजेटिभ आएको भए पनि रिपोर्ट आएको छैन ।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।