लकडाउन खुकुलो भएसँगै ११ दिनमा २४ अर्ब भन्दा बढी राजस्व संकलन

१३ असार, काठमाडौं । बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको
छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको छ । तीन महिनाको लगातारको लकडाउनका कारण अत्यन्तै न्यून राजस्व संकलन भएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेलगत्तै राजस्व उठ्ने क्रममा वृद्धि भएको हो ।

विभागका अनुसार १–१२ असारसम्म कुल २४ अर्ब २२ करोड राजस्व संकलन भएको छ । जसमध्ये आयकरतर्फ १२ अर्ब ६२ करोड, अन्तःशुल्कतर्फ ३ अर्ब ८ करोड र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ८ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

कुल राजस्व संकलन स् २४ अर्ब २२ करोड रुपैयाँ
आयकरतर्फ स् १२ अर्ब ६२ करोड
अन्तःशुल्कतर्फ स् ३ अर्ब ८ करोड
मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ स् ८ अर्ब १६ करोड
शिक्षा र स्वास्थ्य सेवा कर स् ३६ करोड

यस अवधिमा जम्मा भएको २४ अर्ब २२ करोड राजस्व मध्ये आयकर, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट)बाट गरी जम्मा २३ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको हो भने अन्य बाँकी ३६ करोड रुपैयाँ शिक्षा सेवा र स्वास्थ्य सेवा करबापत संकलन भएको विभागले जनाएको छ ।

सरकारको गत ७ असारभित्र कर तिर्न दिएको पछिल्लो अल्टिमेटमलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । तर, सर्वोच्चले दिएको यस्तो मौकाका बाबजुद पनि करदाता एवं सेवाग्राही व्यवसायीले असारको बितेका ११ दिनमा २४ अर्ब २२ करोड रुपैयाँ राजस्व खातामा दाखिला गरिदिएर सरकारलाई संकट परेको बेला सारथी बनिदिएका हुन् ।

यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।