Breaking News

कोरोना भाइरसका नयां लक्ष्यण थपिएको चिकित्सकको भनाई

१३ असार, काठमाडौं । हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो । सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो । र, रुघाखोकी हेरिन्थ्यो । यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण थपिंदै गएको पाएका छन् ।

कोरोना संक्रमितको मुख्य रूपमा उपचार गरिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार नयँं लक्षणका कारण चिकित्सकमा चुनौती थपिंदै गएको छ । ‘पहिला भन्ने गरिएको खोकी लाग्ने, निमोनिया हुने, ज्वरो आउने भन्दा पनि थप लक्षण पाइएका छन्’, उनले भने, ‘सुन्ने शक्तिमा ह्रास आउने, खास वस्तुको स्वाद नपाउने, पेट र टाउको दुख्ने लक्षण देखा परेका छन् । जीउ दुख्ने, एकदम थकाइ महसुस हुने लक्षण पनि देखिएका छन् ।

पुष्टि भएका संक्रमितका लक्षण फरक–फरक देखिएपछि स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘क्लिनिकल’ विश्लेषण गर्न थालेको छ । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार कोरोना संक्रमित रहेका सबै अस्पतालमा लक्षण समेत उल्लेख गर्ने गरी फारम पठाइएको छ। त्यो विवरणका आधारमा नयाँ साझा लक्षण पछि सार्वजनिक गर्ने महाशाखाको योजना छ ।

मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौलालगायत दीर्घ रोगका बिरामीमा कोरोना देखिए उपचार गर्दा विशेष सावधानी अपनाउनुपर्ने डा. राजभण्डारीले बताए । उनका अनुसार विदेशमा उपचार गर्दा प्रयोग गरिएका औषधि नेपालमा प्रयोग गरिएको छैन । ‘लक्षणका आधारमा वर्गीकरण गरेर उपचार गर्ने गरिएको छ’, उनले भने ।

उनले ज्वरो मात्र आएका बिरामीलाई प्यारासिटामोल दिने गरिएको बताए । निमोनियाका लक्षण देखिएका संक्रमितको एक्सरे र सिटिस्क्यानसमेत गरिन्छ । अक्सिजनको सहारामा उपचार गर्ने बिरामीलाई विशेष निगरानीमा राखिन्छ । सास फेर्न गाह्रो हुनेलाई सघन उपचार कक्ष (आईसीयू)मा उपचार गरिन्छ । ती सबैको आत्मबल बढाउन मनोसामाजिक परामर्श र आहारव्यवहारमा ध्यान दिने गरिएको उनले सुनाए ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।