Breaking News

साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको ठुलो संख्यामा घुइँचो

साउनको पहिलो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको ठुलो संख्यामा घुइँचो लागेको छ।

बिहानैदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका थिए।

झरीको वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि लाइनबद्धमा रहेका छन् ।

पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको छ।

दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ–संस्थाको पनि विशेष सेवा एवं सहभागिता रहने जनाइएको छ।

पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौं श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको छ ।
बिहान ३ बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि ८ बजेसम्म भक्तजनका लागि खुला गर्ने गरी तयारी भएको छ।

विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुने छ ।