एजेन्सी/ युक्रेनमा रूसले गरेको भीषण हमलामा मृत्यु हुनेको संख्या २७ पुगेको छ।
बिहीबार रूसले युक्रेनको राजधानीमा किभमा सैयौं ड्रोन र दर्जनौं मिसाइलले हमला गर्दा मृत्यु कम्तिमा २७ जनाको मृत्यु र ९१ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
रूसले युक्रेनमाथि गरेको यो हमला यो वर्षकै सबैभन्दा घातक हमला हो।
राजधानीमै भीषण हमला भएपछि बिहीबार राति हजारौं नागरिकहरूले बंकर र भूमिगत मेट्रो स्टेसनमा रात कटाएका थिए।
आक्रमणबाट करिब १३० वटा भवनमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले जनाएका छन्।
किभको सैन्य प्रशासन प्रमुख तिमुर तकाचेन्कोले टेलिग्राममार्फत घाइतेमध्ये एक जनाको अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या २७ पुगेको जानकारी दिएका हुन्।
उनका अनुसार उद्धार टोली अझै भग्नावशेष हटाउँदै बेपत्ता व्यक्तिको खोजीमा रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका छ।
उनले किभको पूर्वी क्षेत्रमा पर्ने एक आवासीय क्षेत्रमा पाँच जनाको शव फेला परेको र आठ जना अझै बेपत्ता रहेको बताए।
‘सबै भग्नावशेष नहटाएसम्म उद्धार कार्य निरन्तर चलिरहनेछ। दुर्भाग्यवश अझै थप मृतक भेटिन सक्छन्,’ उनको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की आयरल्यान्ड भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। उनले आधा ध्वस्त बनेको नौतले आवासीय भवनको निरीक्षण गर्दै सहयोगी राष्ट्रहरूले वाचा गरेअनुसार समयमै हवाई सुरक्षा प्रणाली उपलब्ध नगराएकै कारण क्षति बढेको आरोप लगाए।
‘यदि हाम्रा साझेदारहरूले समयमै आफ्नो प्रतिबद्धता पूरा गरेका भए आज अझ धेरै घर र नागरिकको ज्यान बचाउन सकिन्थ्यो। हामीले थप केही मागेका छैनौं, केवल पहिले भएको सहमति कार्यान्वयन गरिदिन मात्र भनेका हौं,’ उनले भने।
पछि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आगामी साता टर्कीमा हुने नेटो शिखर सम्मेलनको मुख्य एजेन्डामध्ये हवाई सुरक्षा पनि हुने बताए।
‘यदि नेटो अझै पनि आफ्ना सदस्य राष्ट्रका लागि अर्थपूर्ण संगठन हो भने युरोपसँग रुसी ब्यालेस्टिक मिसाइललगायत सबै प्रकारका खतराको सामना गर्ने पर्याप्त क्षमता हुनुपर्छ,’ उनले भने।
युक्रेनी वायुसेनाका अनुसार रुसले एकै रात ७४ वटा मिसाइल र ४९६ वटा ड्रोन प्रहार गरेको थियो। वायुसेनाका प्रवक्ता युरी इहनातले ब्यालेस्टिक मिसाइलको संख्या असामान्य रूपमा धेरै रहेको र तिनलाई रोक्ने सफलता दर निकै कम भएको बताए। पछिल्ला महिनाहरूमा युक्रेनसँग अमेरिकी प्याट्रियट हवाई सुरक्षा मिसाइलको अभाव रहेको जनाइएको छ।
उता रुसी रक्षा मन्त्रालयले भने आफ्नो लामो दूरीका उच्च सटीकता भएका हवाई, स्थल र समुद्री हतियार तथा ड्रोन प्रयोग गरेर गरिएको ‘व्यापक आक्रमण’ ले किभसहित विभिन्न स्थानका सैनिक, ऊर्जा र विमानस्थलका संरचनालाई निशाना बनाएको दाबी गरेको छ।
मस्कोले यसलाई रुसमाथि युक्रेनले हालै गरेका ड्रोन आक्रमणको बदला भनेको छ। युक्रेनले भने राति रुसको निज्नी नोभगोरोद क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको जनाएको छ। उक्त क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको स्थानीय गभर्नरले पुष्टि गरेका छन्।
क्रेमलिनले राष्ट्रपति भ्लादिमिर पुटिन लाई सैन्य कमान्डरहरूले आक्रमणबारे जानकारी गराएको र युद्धका उद्देश्य हासिल गर्न रुसले अझ दबाब बढाउने जनाएको छ।
आक्रमणपछि किभका मेयर भिटाली क्लिच्को ले शुक्रबारलाई शोक दिवस घोषणा गरेका छन्। उनका अनुसार तीन करोड जनसंख्या भएको राजधानीका अधिकांश क्षेत्रमा क्षति पुगेको छ र धेरै भवन गम्भीर रूपमा ध्वस्त भएका छन्।
युक्रेनी रेड क्रस ले आफ्नो मानवीय सहायता गोदाम पूर्ण रूपमा नष्ट भएको जनाएको छ। संस्थाका अनुसार ३ लाख २० हजारभन्दा बढी राहत सामग्री नष्ट हुँदा देशभरका उद्धार तथा मानवीय सहायता अभियान प्रभावित भएका छन्।
युक्रेनका लागि युरोपेली संघ की राजदूत कातारिना माथेर्नोभाले ‘रुसले रातभर किएभमाथि नरक वर्षायो’ भन्दै कूटनीतिक कर्मचारी बस्ने आवासमा पनि आक्रमण भएको बताइन्।
कर्मचारीहरू सुरक्षित रहे पनि उनीहरूको सम्पत्ति आगलागीबाट क्षतिग्रस्त भएको उनले उल्लेख गरिन्।
आक्रमणमा बालबालिका, एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीसमेत घाइते भएका छन्।
यस आक्रमणमा युक्रेनको राष्ट्रिय जैव रसायन संस्थानको अत्याधुनिक प्रयोगशालासमेत ध्वस्त भएको छ। संस्थाका वैज्ञानिक युरी दानिलोभिचले ‘यो युक्रेनको चिकित्सा र जैविक विज्ञानका लागि ठूलो विपत्ति हो’ भने।
आक्रमणपछि युक्रेनको छिमेकी पोल्यान्ड ले सुरक्षा सतर्कताका रूपमा लडाकु विमान परिचालन गरेको थियो भने फिनल्यान्ड ले पूर्वी फिनल्यान्ड खाडी क्षेत्रमा अस्थायी हवाई प्रतिबन्ध लागू गरेको थियो।
यता काजा कालासले रुसमाथि थप प्रतिबन्ध लगाउन प्रस्ताव गर्ने बताएकी छन्। उनले भनिन्, ‘मस्कोले जति धेरै सर्वसाधारणमाथि आक्रमण गर्छ, त्यति नै बढी प्रतिबन्ध लगाइनुपर्छ।’
यसैबीच संयुक्त राष्ट्रसंघ का महासचिव एन्टोनियो गुटेरेस ले हमलाको निन्दा गर्दै यसलाई सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा भइरहेका घातक आक्रमणको निरन्तरता भएको बताएका छन्।
जेलिन्स्कीले पुटिनसँग शान्तिवार्ताको प्रस्ताव राखे पनि क्रेमलिनले त्यसलाई अस्वीकार गरेको छ। उनले पछिल्ला दुई दिनमा युक्रेन र अमेरिकाबीच वार्ता भएको जानकारी दिँदै आगामी नेटो शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने आशा व्यक्त गरेका छन्।

