Breaking News

अमेरिका र इरानबीच अन्तरिम शान्ति सम्झौता गम्भीर संकटमा

अमेरिका र इरानबीच दुई साताअघि भएको अन्तरिम शान्ति सम्झौता गम्भीर संकटमा परेको छ।

अमेरिकाले आइतबार इरानका सैन्य संरचनामाथि फेरि हवाई आक्रमण गरेपछि इरानले पनि अमेरिकी सैन्य उपस्थितिसँग सम्बन्धित लक्ष्य र खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार शनिबार बिहान हर्मुज जलमार्गमा पनामाको झन्डा बोकेको तेल ट्यांकरमाथि इरानी ड्रोन आक्रमण भएपछि त्यसको प्रतिकारस्वरूप इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई कारबाही गरिएको थियो।

सेन्टकमले विज्ञप्तिमा इरानले युद्धविराम सम्झौताको पालना गर्ने अवसर पाएको भए पनि त्यसलाई अस्वीकार गरेको दाबी गर्दै, अमेरिकी आक्रमणमा सैन्य निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र, ड्रोन भण्डारण स्थल तथा समुद्री सुरुङ (माइन) बिछ्याउने क्षमता लक्षित गरिएको जनाएको छ।

इरानको सरकारी प्रसारक आईआरआईबीका अनुसार दक्षिणी बन्दरगाह शहर सिरिक क्षेत्रमा विस्फोटको आवाज सुनिएको छ। यद्यपि, त्यहाँ भएको क्षतिको विवरण सार्वजनिक गरिएको छैन।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानलाई कडा चेतावनी दिएका छन्।

‘हामी अब धेरै समयसम्म संयमित रहन नसक्ने अवस्था आउन सक्छ र हामीले अत्यन्त सफलतापूर्वक सुरु गरेको काम सैन्य रूपमा पूरा गर्न बाध्य हुन सक्छौं। यदि त्यस्तो भयो भने इस्लामिक गणतन्त्र इरानको अस्तित्व नै समाप्त हुनेछ,’ उनले लेखेका छन्।

इरानले अमेरिकी आक्रमणपछि जवाफी कारबाहीस्वरूप अमेरिकी सैन्य उपस्थितिसँग सम्बन्धित लक्ष्यमाथि आक्रमण गरेको जनाएको छ।

कुवेत र बहराइनले इरानी ड्रोन तथा मिसाइल आक्रमण भएको पुष्टि गरेका छन्। बहराइनले यो आक्रमणलाई अन्तरिम सम्झौताको उल्लंघन भनेको छ।

इरानको विदेश मन्त्रालयले आफ्नो कारबाहीलाई रक्षात्मक प्रतिक्रिया भनेको छ। यद्यपि, अमेरिकाले बहराइनमा भएको आक्रमणबारे तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन।

इरानी सरकारी सञ्चारमाध्यमले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)ले हर्मुज जलडमार्ग हुँदै इरानले तोकेको मार्गबाहेक अन्य बाटो प्रयोग गर्न खोज्ने जहाजतर्फ चेतावनीस्वरूप गोली चलाएको दाबी गरेका छन्।

इरानले अब जहाजहरूलाई आफ्नो अनुमति लिएर मात्र जलडमरूमध्य पार गर्न दबाब दिइरहेको पनि जनाएको छ।

आईआरजीसीसँग आबद्ध सञ्चारमाध्यमहरूले हर्मुज हुँदै आवतजावत गर्ने जहाजमाथि अझ कडा कारबाही हुन सक्ने चेतावनी दिएका छन्, जसले शान्ति प्रक्रियामाथि थप संकट उत्पन्न गरेको छ।

 तेल ढुवानीमा फेरि जोखिम

शनिबारको आक्रमण हर्मुज जलमार्ग हुँदै दुई करोडभन्दा बढी ब्यारेल कच्चा तेल बोकेको ‘एम/टी किकु’ ट्यांकरमाथि गरिएको थियो। बेलायती समुद्री सुरक्षा निकाय यूकेएमटीओका अनुसार जहाजको ब्रिजमा क्षति पुगे पनि सबै चालक दल सुरक्षित छन्।

यसअघि बिहीबार पनि एक व्यापारिक मालवाहक जहाजमाथि आक्रमण भएको थियो।

लगातारका घटनापछि संयुक्त समुद्री सूचना केन्द्र (जेएमआईसी)ले समुद्री सुरक्षाको जोखिम स्तर बढाएको छ।

हर्मुज जलमार्ग विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग मानिन्छ।

युद्धका कारण महिनौँ अवरुद्ध रहेको यो मार्ग पछिल्ला दुई सातादेखि क्रमशः खुल्न थालेको थियो। तर पछिल्ला आक्रमणहरूले फेरि विश्व ऊर्जा आपूर्तिमा अनिश्चितता बढाएको छ।

 दुई साताअघिको सम्झौता संकटमा

अमेरिका र इरानले करिब दुई साताअघि चार महिनादेखिको युद्ध अन्त्य गर्दै ६० दिने कूटनीतिक वार्ता अघि बढाउने अन्तरिम समझदारी गरेका थिए। तर त्यसयता दुवै पक्षले एकअर्कामाथि सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएका छन्।

इरानले अमेरिकाले लेबनानमा युद्धविराम कायम गराउने आफ्नो प्रतिबद्धता पूरा नगरेको आरोप लगाएको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका सम्झौताप्रति प्रतिबद्ध रहेको र हिंसाको जिम्मेवार इरान नै भएको बताएका छन्।

‘इरानले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको थियो। हामीले त्यसको सम्मान गरेका छौं। यदि सम्झौताको कार्यान्वयनबारे असहमति छ भने उनीहरूले फोन गर्न सक्छन्। तर हिंसाको जवाफ हिंसाबाटै दिइनेछ,’ भान्सले एक्समा लेखेका छन्।

पछिल्ला घटनाक्रमले अमेरिका–इरान सम्बन्ध फेरि युद्धतर्फ उन्मुख हुने जोखिम बढाएको विश्लेषण गरिएको छ।