Breaking News

देउवा समूहले आजबाट प्रदेशस्तरीय भेला गर्दै

२९ वैशाख, काठमाडौँ । नेपाली काङ्ग्रेसमा अहिले तीन समूह सक्रिय रहेका छन् । मुख्यतय दुई समूहबीच घोचनोच भइरहेको छ । बिशेष महाधिवेशनबाट आएको संस्थापन सभापति गगन थापा र उपसभापति विश्वप्रकाश समूह र निवर्तमान सभापति शेरबहादुर देउवा समूह रहेका छन् । अर्को समूह नेता शेखर समूह रहेको छ । सभापति गगन थापा र देउवा समुहका नेताहरुबीच सहमतिको प्रयास भइरहेको बेला सो समूहले प्रदेशस्तरीय भेला आजबाट सुरु गर्दैछ ।

पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय भेलाहरू गरिरहेकै बेला देउवा समूहले पनि आन्तरिक रणनीति तय गर्न भेला सुरु गर्न लागेको हो ।

देउवा समूहले आज कोशी प्रदेशस्तरीय भेला मोरङको विराटनगरमा गर्दै छ ।
देउवा समूहमा एक नेताका अनुसार पार्टीलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गरिएको बताए ।

‘विचार समूहको प्रदेशस्तरीय भेलाको उद्देश्य पार्टी सङ्गठन सुदृढ बनाउने, १५औँ महाधिवेशनको तयारी अघि बढाउने र निराश बनेका साथीहरूलाई पुनः सक्रिय र एकताबद्ध बनाउने बताए ।

वर्तमान राजनीतिक अवस्था र मुलुकको दिशाबारे साझा बुझाइ बनाउँदै अब कसरी अघि बढ्ने भन्ने विषयमा पनि प्रदेशस्तरीय भेलामा छलफल हुने उनले बताए ।

देउवा समूहले भोलि काठमाडौँमा बागमती प्रदेशस्तरीय भेला गर्ने भएको छ ।
पार्टीलाई एकताबद्ध बनाउनका लागि बागमती प्रदेशस्तरीय बृहत् भेला आयोजना गर्ने निर्णय गरिएको देउवा पक्षीय नेताहरूको भनाइ छ ।

देउवा समूहले प्रदेशस्तरीय भेलाका लागि कोशीमा कृष्णप्रसाद सिटौला र मधेशमा आनन्दप्रसाद ढुङ्गानालाई समन्वयको जिम्मेवारी दिएको छ । यस्तै गण्डकीमा मेखलाल श्रेष्ठ, बागमतीमा प्रकाशमान सिंह र डा। प्रकाशशरण महतले समन्वय गरिरहेका छन् ।

लुम्बिनीमा किशोरसिंह राठौर, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई जिम्मा दिइएको छ ।