एसइई परीक्षाको नतिजा असाउन मसान्तभित्रमा आईसक्ने

११ असार, काठमाडौं माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बोर्डले नतिजा प्रकाशित गर्ने जानकारी दिँदै साउनभित्रै ग्रेडसिट विद्यार्थीको हातमा पर्ने बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण भयावह भएको अवस्थामा बाहेक साउनभित्रै सबै काम सक्ने योजना बनाइएको छ । नतिजा प्रकाशनपछि चार लाख ८३ हजार विद्यार्थीको ग्रेडसिट र प्रमाणपत्र प्रिन्ट गर्न, परीक्षा नियन्त्रकको हस्ताक्षर तथा छाप लगाउने कार्यका लागि केही दिन लाग्ने अनुमान गरिएको छ ।

विद्यार्थी विद्यालय जानु पर्दैन

एसईईका विद्यार्थी आफ्नो विद्यालयमा भने जानु नपर्ने भएको छ । तर, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विषय शिक्षक र माध्यमिक तहको ज्येष्ठ सदस्य भने विद्यालय जानुपर्ने गरी कार्यविधि बनाइएको छ । ज्येष्ठ शिक्षकबारे थप स्पष्ट गर्दै भनिएको छ, सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा ज्येष्ठ शिक्षक प्रतिनिधि हुनेछन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।